धरान : दोस्रो धरान मेघा रेवाहाङ स्मृति बास्केटवल प्रतियोगिताको लागि स्थापना गरिएको अक्षयकोषमा एक लाख रुपैयाँ थपिएको छ ।

गत भदौ २५ गतेदेखि ३० सम्म आयोजना भएको प्रतियोगिताको दोस्रो सस्करणबाट बचेको रकमबाट एक लाख अक्षयकोषमा थपिएको हो । यो सङ्गै अक्षयकोषको कुल रकम ३ लाख पुगेको छ । स्वर्गीय रेवाहाङ राईका अभिभावक रेवतीरमण र सुजाता राईले बास्केटवल प्रतियोगिताको लागी २ लाखको अक्षयकोष स्थापना गरेका थिए ।

आज शनिबार धरान १० पुतलीलाइनस्थित केक प्यालेसमा एक कार्यक्रम गरि प्रतियोगिताको आयोजक धरान बस्केटवल संघ र धरान मेघा हिमालयन कलेजले एक लाखको चेक अक्षयकोष समितिलाई हस्तान्तरण गरेको छ । रेवाहाङका बुबा रेवतीरमण राईले अल्पायुमै छोरा गुमे पनी बस्केटवल खेल्ने भएकोले उनको स्मृतिमा प्रतियोगिता सुरु गरेको बताए । यस्ले बास्केटबल खेलको विकास हुने र नयाँ खेलाडी उत्पादनमा पनि योगदान हुने राईले बताए । साथै उनले  कोषमा परिवारको तर्फबाट अझै रकम थप्ने पनि बताए ।

आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले विधार्थीहरुलाई पढाईसङ्गै खेलकुद पनि आवश्यक भएको बताए । रेवाहाङ उदयीमान खेलाडी भएको उल्लेख गर्दै उनले रेवाहाङको अधुरो सपना पूरा गर्न प्रतियोगिता सुरु भएको बताए । प्रतियोगितालाई अझै बृहत सहभागीता गराउने उनले बताए । 

यस्तै, नेपाल बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बस्केटवल संघका अध्यक्ष सुरज लामाले प्रतियोगिताको लागी पहिलो चोटी कोष स्थापना भएको बताए । पहिलो भन्दा दोस्रो सस्करण राम्रो भएको भन्दै लामाले कोष बढेपछि भविष्यमा अरु खेलकुद गतिविधि पनि गर्न सक्ने बताए ।