धरान: ‘मोवाइल फोन पे’ मार्फत रकम भुक्तानी गरेको भन्दै महंगो मदिरा ठगेर हिड्ने धरान १९ का विकास साहविरुद्ध सरकारी छाप किर्तेमा मुद्दा दायर भएको छ । 

साहले धरानका विभिन्न पसलबाट मदिरा ठगी गरेको भएपनि पीडित व्यवसायीहरुले उनीविरुद्ध जाहेरी भने दिएनन् । मंगलबार राती पक्राउ परेका साहका अभिभावकसँग मदिरा व्यवसायी संघले बुधबार छलफल गरेर समझदारी गरेपछि जाहेरी नदिने निर्णयमा व्यवसायीहरु पुगे । साहका अभिभावकले ठगीएका व्यवसायीहरुलाई रकम तिरिदिने भएपछि जाहेरी दिएनन् । व्यवसायीहरुबाट जाहेरी नआएपनि ईलाका प्रहरी कार्यालय धरानले साहविरुद्ध सरकारी छाप किर्ते मुद्दा दायर गरेको छ । 

व्यापारीहरुले मंगलबार राती नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको साहको साथबाट सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डको शाखा अधिकृत भएको परिचय पत्र फेला परेको थियो । तर, प्रारम्भिक अनुसन्धानको क्रममा साह सरकारी कर्मचारी नभएको खुल्यो । त्यसैले उनीविरुद्ध पीडित व्यापारीहरुले जाहेरी नदिएपनि प्रहरीले मुद्दा चलाउन उक्त परिचय पत्र नै पर्याप्त भयो ।

madira thagi1

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रञ्जन मिश्रले पीडित व्यापारीहरुबाट जाहेरी नआएपनि सरकारी छाप किर्ते अभियोगमा प्रहरी आफैले मुचुल्का प्रतिवेदन बनाएर साहविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए । उनलाई प्रहरीले बुधबार अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । साहको साथबाट रुटिन अफ धरान बन्द पेजको रिपोर्टर भएको परिचय पत्र पनि भेटिएको छ ।

 अभिभावकले व्यवसायीलाई तिरे ५१ हजार

पक्राउ परेका साहले विभिन्न ११ स्थानका व्यवासायीहरुबाट ५१ हजार बराबरको मदिरा ठगी गरेको खुलेको छ । सम्पर्कमा आएका व्यावसायीहरुबाट मात्र उक्त रकम ठगि भएको खुलेको र अझै धेरै व्यवसायीहरु ठगिएको हुनसक्ने मदिरा व्यवसायी संघले जनाएको छ। 

साहका अभिभावकहरुले एक पटकलाई माफी दिन र ठगिएको रकम तिरिदिने भन्दै बारम्बार अनुरोध गरेपछि व्यवसायीहरु र संघले जाहेरी नदिएको मनोकामना कोल्डड्रिंसका प्रोपाइटर रमेश हतुवालीले जानकारी दिए ।  उनका अनुसार तत्काल ५१ हजार बराबरको मदिरा ठगी भएको हिसाब देखिएको र अभिभावकले तिरिदिएका थिए । 

'फोन पे' सिस्टम ह्याक गरेको आशंका

madira thagi3

पक्राउ परेका साहले विभिन्न पसलहरुमा महंगो रक्सी खरिद गर्ने र फोन पे गर्ने गरेका थिए । उनले मोवाइलमा पेमेन्ट भएको स्क्रिनसट देखाएर समान लैजाने गरेका थिए । तर, आफुहरुको खातामा भने पैसा जम्मा नहुने पीडित व्यवसायीहरुको भनाई छ । ‘उसले मोवाइलमा पैसा तिरेको देखिन्छ, तर हाम्रो खातामा जम्मा हुदैन । एउटा मात्र होइन, सबैलाई यसरी नै ठगेको देखिन्छ । कतै सिस्टम ह्याक गरेको पो हो कि ? गहिरो अनुसन्धान हुनुपर्ने देखिन्छ,’ पीडित व्यवसायी हतुवाली भन्छन् । 

धरानको थुप्रै मदिरा पसलहरुबाट मोवाइल पे गरेको भन्दै महंगो मदिरा लिएर जाने तर पैसा नआउने गरेपछि व्यवसायीहरुले भित्रभित्रै साहको खोजी गरिरहेका थिए । साहले कहिले आफु पर्यटन मन्त्रालयको कर्मचारी, कहिले वीपी प्रतिष्ठानको डाक्टर भएको परिचय दिने गरेको पीडित व्यवसायीहरुको भनाई छ । साह सोमबार भानुचोकस्थित बाबा कोल्डड्रिंसमा मदिरा बेच्न आएको र त्यहाँका स्टाफले साहुजी नभएकोले मंगलबार आउन भनेका थिए । मंगलबार साँझ साह सोही पसलमा मदिरा बेच्न पुगेको बेला व्यवसायीहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । साह बा ७ च ४४८० नम्बरको कार चढेर मदिरा बेच्न पुगेका थिए ।