धरान: बराह बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि खातामां* १ सयदेखि ५ सयसम्म पैसा वचत भएका वचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । 

बराह पीडितहरुले गठन गरेको संयुक्त समन्वय समितिले आज (बिहिबार) भेला आयोजना गरेर यस्तो घोषणा गरेको हो । समन्वय समितिको पहलमा पहिलो चरणमा खातामा* १ सयदेखि ५ सयसम्म पैसा वचत भएका वचतजर्ताहरुको रकम फिर्ता गर्न लागिएको हो । भेलामा बराह समन्वय समितिका वरिष्ठ उपाध्यक्ष राम कुमार लिम्बु हालसम्म भएको कार्यप्रगति विवरण सुनाएका थिए । 

बराह पीडितहरुले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए । उक्त संघर्ष समितिसँग भूपू भारतीय सैनिक र भूपू वृटिश सैनिकहरु पनि मिलेर तीन महिना अघि संयुक्त समन्वय समिति गठन गरिएको थियो । उक्त समितिले बराहका वचतकर्ता तथा लगानीकर्ताहरुको लगानी डुब्न नदिन निरन्तर प्रयास गरिरहेको छ । हालसम्म यो समितिले अलग्गै कम्पनी स्थापना गरेर बैंकबाट लिलाम हुन लागेको बराहको सम्पत्ति जोगाउन लागिपरेको छ । 

baraha1

वरिष्ठ उपाध्यक्ष लिुम्बुले प्रगति विवरण सुनाउदै ३ महिनाको अवधिमा बराहलाई संचालन गर्नका लागि प्रधानमन्त्री समक्ष पनि अपिल गर्न पुगेको र आश्वासन समेत पाएको जानकारी गराए । यस्तै, पर्यटन मन्त्री सुदन किराँती समक्ष बराहलाई संकटग्रस्त घोषणा हुनाबाट जोगाईदिन अनुरोध गरेको र मन्त्री किरातीबाट पहल पनि भएको उनले जानकारी दिए । स्थानिय सरकार समक्ष पनि पहल गरिहेका छौ र भोली पनि मेयरलाई भेटेर सम्पत्ति फुकुवाका लागि अनुरोध गर्नेछौ, उनले भने । 

यस्तै, समन्वय समितिले घर घरमा गएर ऋण उठाउनका लागि बचतकर्ताहरुसँग सहयोगको अपिल पनि गरेको छ । समितिका सल्लाहकार अमर ईजमले बराहलाई जोगाउनुपर्ने धारणा राख्दै बराह संकटमा पर्दा धरान बजार पनि संकटमा परेको बताए । उनले भने, 'त्यसैले सबैले मिलेर एक अन्तिम प्रयास गर्न जरुरी छ । बराहलाई जोगाउनुपर्छ ।' 

बराहका संचालक मिनबहादुर दियालीले बचतकर्ताको रकम फिर्ता गर्नका लागि स्थानिय सरकारले उचित बातावरण बनाई दिए ३ देखि ४ वर्षमा सबैको रकम फिर्ता गर्ने बताए । उनका अनुसार दैनिक वचतकर्ताहरुकै पनि खातामा १ सयदेखि ५ सय रुपैया बाकी छ भने मात्रै पैसा फिर्ता हुनेछ ।  यस्ता खातावालाहरुको संख्या ३३८४ जना रहेको पनि उनले बताए । उनका अनुसार वचतकर्ताको रकम फिर्ता गर्न समन्वय समितिले मापदण्ड तयार गरेको र सोही अनुसार फिर्ता हुने उनले बताए । वचतकर्ताहरुलाई पैसासँगै सपिंग भौचर दिइने उनको भनाई थियो । भेलालाई वडा नं २ का अध्यक्ष रमेश राईले पनि सम्बोधन गरेका थिए ।

*समाचारमा १ सयदेखि ५ सय मात्रै खातामा जम्मा भएको हुनुपर्नेमा दैनिक १ सयदेखी ५ सय वचत गर्ने वचतकर्ता भएकोमा सच्याईएको छ । पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।-सम्पादक 

भिडियो: