धरान: विद्यार्थीलाई कलेजमै कुटपिट गर्ने शिक्षकविरुद्ध पीडितका बुबाले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । 

पीडितका बुबाले कुटपिट गरेको आरोपित शिक्षकहरुविरुद्ध किटानी जाहेरी दिएका हुन् । घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक्त फुटेजमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको देखिन्छ । उक्त भिडियो सार्वजनिक भएपछि कलेज र शिक्षकहरुको निन्दा भएको थियो । 

शनिबार सार्वजनिक विदा भएपनि पीडित विद्यार्थीका बुबाले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । पीडितका बुबाले कुटपिट गर्ने भनिएका शिक्षक विदुर महत र बुद्रोस लिम्बुविरुद्ध जाहेरी दिएका छन् । पीडित विद्यार्थी १७ बर्ष मात्र पुगेको र नाबालक भएको कारण बालबालिकाविरुद्धको कसुरमा जाहेरी आएको डिएसपी नवराज मल्लले जानकारी दिए । विदा भएपनि उक्त जाहेरीमा तोक लागिसकेर मुद्दाको प्रक्रिया अघि बढीसकेको डिएसपी मल्ले बताए । 

उक्त घटनालाई कलेज व्यवस्थापन र पीडित विद्यार्थीका अभिभावक आपसी छलफल गरेर क्षतिपूर्तिमा मिल्ने प्रयास पनि भएको खुलेको छ । साथै, व्यवस्थापनले कुटपिटमा संलग्न शिक्षकहरुलाई निलम्बन गरेको पनि बताइएको छ । यद्यपी, कलेज व्यवस्थापनकोतर्फबाट आधिकारिक धारणा आएको छैन । छोरा कुटपिट भएपछि पीडितका बुबाले क्षतिपूर्तिमार्फत ४ लाख माग गरेको र अढाई लाखसम्म दिने सहमति भएको थियो । तर कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि रास्वपाका प्रदेश उपसभापति तथा अभियन्ता सरिन तामाङको पहलमा पीडितका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका हुन् । 

भिडियोः

भिडियोः