काठमाण्डौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा संघीय राजधानी काठमाण्डौं आएका छन्। 

बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्यालाई निकास दिन र अन्य विकास निर्माणका योजनाहरुलाई बजेट माग गर्न मेयर साम्पाङ र उपमेयर बेघा आइतबार हवाई मार्गबाट काठमाण्डौं आएका हुन् । दुवैको साथमा वडा नं २ का वडाअध्यक्ष रमेश राई, प्रशासनका सहायक कम्प्युटर अपरेटर भुपेन श्रेष्ठ पनि आएका छन् । यस्तै, बराह पीडित समन्वय समितिका भूपू ब्रिटिश सैनिक, भूपू भारतीय सैनिकहरु पनि साथमा छन् । 

आइतबार नै बराह सहकारीको बिषयमा भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलाई भेट्ने कार्यक्रम भएपनि विराटनगरबाट फ्लाइट ढिलाई भएपछि भेटघाट रद्द भएको थियो । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट्ने समय मिलाइएको उपमेयर बेघाले जानकारी दिएका छन् । यस्तै, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठसँग दिउँसो १ बजे भेट गर्ने तय भएको छ । 

विभिन्न मन्त्रालयहरुमा बुझाइने माग प्रधानमन्त्री दाहाललाई पनि धरानको टोलीले बुझाउनेछ । मेयर साम्पाङले सहकारी समस्याको निकास र धरानको विकासको एजेण्डा लिएर काठमाण्डौं आएको प्रतिक्रिया दिएका छन् ।धरानको टोली खानेपानी समस्याको दीर्घकालिन समाधान गर्न अध्ययन भइरहेको कोशी खानेपानी परियोजनाबारे खानेपानी मन्त्रालयमा टोली पुग्नेछ भने सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा एयरपोर्टबारे पनि माग पत्र लिएर टोली पुग्नेछ ।

यसैगरि, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्याबारे स्वास्थ्यमन्त्रालयमा र पानीपियादेखि सेउती पुलसम्मको सडक चाडो सम्पन्न गराउन पत्र लिएर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा टोली पुग्नेछ । बराहका रोक्का भएको सम्पत्ति फुकुवा गरेर व्यापार, व्यवसाय चलायमान बनाउन र पीडितहरुको सम्पत्ति फिर्ता गराउन समन्वय समितिले पहल गरिरहेको छ । अख्तियार, मन्त्रालयको पत्र, सहकारी पीडितहरुको महासंघलगायतको कारण मेयर साम्पाङले फुकुवा सिफारिशको पत्र दिनुअघि मन्त्रालयमा छलफल गर्न चाहेका कारण समन्वय समितिसँगै राजधानी आएका हुन् ।