काठमाण्डौं: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट अत्यन्तै सकरात्मक र फलदायी भएको धरानको टोलीले प्रतिक्रिया दिएको छ । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद्घाटन समारोहमा प्रमुख आतिथ्यको लागि प्रधानमन्त्री दाहाललाई निमन्त्रणा पत्रसहित अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले धरान भन्ने बित्तिकै आफुलाई आउने इच्छा हुने प्रतिक्रिया दिए । तर, उक्त दिनको कार्यक्रमको तालिका अनुकुल भए आउने उनले वचन दिएका थिए ।

मेयर साम्पाङ र उपमेयर बेघाले धरानको विकास र निकासको लागि प्रधानमन्त्रीसँगको भेट ज्यादै महत्वपुर्ण भएको बताए । भेटमा एयरपोर्ट, विपी प्रतिष्ठान, पानीपिया सेउती पुल सडक, कोशी खानेपानी परियोजनालगायतको बिषयमा मागपत्र र अनुरोध गरिएको पनि मेयर साम्पाङले बताए । प्रधानमन्त्री दाहालले धरानको मागहरुको बिषयमा प्रधानमन्त्री दाहालले केही दिनभित्रै परिणाम थाह पाउने बताए । 

'धरानको एयरपोर्टकै लागि बैठक राख्छु '

pm

मेयर साम्पाङले धरानमा एयरपोर्ट अतिआवश्यक भएको भन्दै प्रधानमन्त्रीलाई माग पत्रसहित अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले धरानको एयरपोर्टबारे २ वटा धारणा आइरहेको भन्दै धरानको एयरपोर्टकै लागि सम्बन्धित मन्त्रालय र विभागको बैठक राख्ने प्रतिवद्धता पनि जनाए । 

प्रधानमन्त्री दाहालका अनुसार नजिकै विराटनगर भएकोले धरानमा किन बनाउने भन्ने एउटा मत रहेको छ । यस्तै, जाडोमा हुस्सु र बर्षामा बाढीले विराटनगर एयरपोर्ट डुबान पर्ने भएकोले धरानमा बनाउनुपर्छ भन्ने अर्को धारणा भएको पनि प्रधानमन्त्री दाहालले सुनाए । उनले भने,‘तर धरानमा बनाउदा धरानको लागि मात्र होइन, पुर्वकै जनतालाई सहज हुन्छ भन्ने मत पनि देखिन्छ । म धरानकै बिषयमा मिटिङ सम्बन्धित मन्त्रालय, विभागको मिटिङ राख्छुँ ।’

'कोशी खानेपानी परियोजनालाई बजेट थप हुन्छ'

प्रधानमन्त्री दाहालले कोशी खानेपानी परियोजनालाई बजेट थप गर्न सकिने बताएका छन् । मेयर साम्पाङले कोशीको डिपिआर अन्तिम चरणमा रहेको र यो बर्ष बजेट न्युन भएकोले थप गरिदिन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले केही रकम छुट्टीएको भए बढाउन समस्या नहुने भन्दै बजेट वृद्धि हुने आश्वासन दिए । उनले भने,‘रकम छुटेकै छैन भने गाह्रो हो । तर विनियोजन भइसकेको छ भने बढाउन गाह्रो हुदैन । अन्त खर्च नहुने ठाउँको रकम ल्याएर बढाउने काम हुन्छ ।’

'वीपी प्रतिष्ठानको समस्या र पानीपिया सेउती सडकबारे ध्यानाकर्षण'

मेयर साम्पाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेशिन, उपकरणहरुको अभावलगायत सेवाहरुको बिषयमा पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । साथै, लामो समयदेखि शिक्षक र कर्मचारीहरुको बढुवा नभएर वृत्तिविकास नहुदा समस्या भएको भन्दै बढुवा प्रक्रियालाई सुचारु गराउन लोकसेवा आयोगलाई आवश्यक निर्देशन दिन पनि आग्रह गरेका थिए । 

प्रधानमन्त्री दाहालले यो बिषयमा पहिल्यैदेखि ध्यानाकर्षण भएर पहल भएको बताए । यस्तै, मेयर साम्पाङले तरहरा पानीपियादेखि सेउती पुलसम्मको सडक ठेकेदारको लापरवाहीले निर्माण पुरा नभएर धुलाम्य भएकोले चाडो सम्पन्न गराउन आवश्यक पहल तथा निर्देशनको पनि अनुरोध गरेका थिए । प्रधानमन्त्री दाहालले त्यसबिषयमा पनि पहल हुने बताए ।