धरान : आदिबासी लिम्बुहरुको चाड चासोक तङ्नामको अवसरमा धरानमा पाँच दिने चासोक साँस्कृतिक उत्सव गरि सामुहिकरुपमा मनाइने भएको छ । 

किरात याक्थुङ चुम्लुङ जिल्ला तथा नगर कार्यसमितिले सोमबार धरान १५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गर्दै आजैदेखि पाँच दिने चासोक तङ्नाम उत्सव शुरु भएको जानकारी दिएको हो । पाँच दिने चासोकको औपचारिक उद्घाटन समारोह भने भोली हुनेछ । आदिबासी जनजाति एवं किरातहरुको चाड उभौलीको अवसरमा भोली सार्वजनिक विदा पनि छ । 

अन्न पाकेपछि सबैभन्दा पहिला युमा माङ्लाई चढाएर मात्रै मान्छेले खान हुने मुन्धुममा समेत वर्णन भएअनुसार सृष्टीकालदेखि नै चासोत अर्थात चासोक मनाउन प्रारम्भ भएको मानिन्छ । अन्न पाकेपछि घर घरमा चासोक मनाउने प्रचलन परापुर्वकालदेखि नै हो । धरानमा भने २०५०/०५१ सालदेखि सामुहिकरुपमा चासोक मनाउन शुरुवात भएको हो ।  

यसपाली चासोक तङ्नामलाई साँस्कृतिकरुपमा मात्र नभै कोशी प्रदेश नामाङ्कनको विरोधकोरुपमा पनि मनाइने चुम्लुङले जनाएको छ । ‘हामी हर्षोलासका साथ चासोक मनाउदैछौं, तर मन मुटुभरी कोशी प्रदेश नामांकनको खारेज गर्दै पुनःनामाङ्कन हुनुपर्ने आन्दोलनकोरुपमा लिएका छौं,’ जारी विज्ञप्तीमा भनिएको छ । 

chasok

पत्रकारको जिज्ञासाको जवाफ दिदै चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्वापोले प्रदेशको नाम कोशी राखेको कारण पहिचान गुमेको र भुगोल, इतिहास, सभ्यता मारेको हुनाले सबै गतिविधि, कार्यक्रमहरु आन्दोलनकैरुपमा मनाउदै आइरहेको बताइन् । ‘जबसम्म कोशी प्रदेश नाम खारेजी गरेर पुनः नामांकन हुदैन, तबसम्म पहिचानको आन्दोलन जारी रहन्छ,’ उनले भनिन् । 

पाँच दिने चासोक साँस्कृतिक उत्सवमा पहिलो दिन आज लिम्बुवानबासीको एकराते चमेन तङ्सिङ (वैभव सुस्वास्थ्य र सद्भावका लागि अनुष्ठान) आयोजना हुनेछ भने दोस्रो दिन बिहान चासोक पुजा, विजयपुरस्थित हाङ्युक्ना पुजा, तीनकुनेस्थित सिरिजंगाको सालिकमा माल्र्यापण र उद्घाटन हुनेछ । 

यस्तै, तेस्रो दिन केलाङ, यालाङ, पालाम आयोजना हुनेछ भने चौथो दिन याक्थुङजन्य खेलहरु लि आप्मा (गुलेली हान्नु), पक्लुम लेप्मा (छेलो हान्नु), थाक्थाक्मा (तान बुन्नु) लगायत हाक्पारे साम्लो र परम्परागत पक्षहरुको प्रर्दशनी पनि हुने नगर अध्यक्ष तीर्थ मादेम्बाले जानकारी दिए । पाँचौ दिन आदिबासी संघसंस्थाहरुको साँस्कृतिक प्रर्दशनी र समापन हुनेछ । पहिलो साँझ बाहेक हरेक साँझ धरानका डान्स सेन्टरका कलाकारहरुको र स्थापित एवं उदयीमान कलाकारहरुको सांगीतिक प्रस्तुती पनि हुने आयोजकले जनाएको छ ।

भिडियो: