धरान: १२३ औं धरान स्थापना दिवस मनाउने क्रममा आज वृहत सरसफाई कार्यक्रम भएको छ । 

उपमहानगरपालिकाको आयोजनामा भोटेपुलदेखि श्रीजंगा चोक तीनकुनेसम्म आज बिहान वृहत सरसफाई अभियान भएको हो । उक्त अभियानमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं ३, ४, ८, १३, १५ लगायतका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधिहरु पनि सहभागी भएका थिए । यस्तै, सशस्त्र प्रहरी, जनपद प्रहरी, नगर प्रहरी, टोल विकास संस्था र विभिन्न सामाजिक संस्थाहरुको पनि सहभागिता रहेको थियो ।

सरसफाई अभियानको उद्घाटन गर्दै मेयर साम्पाङले आफ्नो स्वास्थ्यको लागि मात्र नभएर नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउनको लागि पनि सबैले आआफ्नो घर, क्षेत्रलाई सफा गर्नुपर्ने बताए । बाहिरबाट पर्यटकहरु आउदा धरान फोहोर र दुर्गन्धितको भए अर्कोपटक आउन नचाहने भन्दै उनले सरसफाईमा सबैले ध्यान दिन पनि आग्रह गरे ।

safai2

‘यो अभियान एक पटक गरेर मात्र हुदैन, यो त सन्देशको लागि हो । तर, यो अभियान जहिल्यै गरिरहनुपर्ने हो,’मेयर साम्पाङले भने,‘नगरपालिकाले मात्र सफाई गरिदियोस्, सफाई कर्मचारीले फोहोर उठाइहाल्छ नि भन्ने होइन । प्रत्येक घरले फोहोर व्यवस्थापनमा सहयोग गर्नुपर्छ ।’

घरबाट निस्कने फोहोरलाई डस्विनमा वा बोरामा राखिदिए सफाई कर्मचारीहरुलाई सहज हुने र जथाभावी फोहोर पनि नहुने मेयर साम्पाङले बताए । धरानमा व्यवस्थित ल्याण्डफिल साइट बनाउन पहल भइरहेको र वनसँग जग्गाको भोगाधिकार प्राप्तीको प्रक्रियामा रहेको पनि उनले बताए । 

भोला, गुट्खालाई प्रतिबन्ध लगाउने 

safai1

मेयर साम्पाङले स्वास्थ्य र वातावरणलाई पनि असर पुग्ने भोला, गुट्खालगायत सुर्तिजन्य पदर्थालाई धरानमा पनि प्रतिबन्ध लगाउने बताएका छन् । सरसफाई अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले धरानलाई स्वस्थ्य, सफा, स्वच्छ र हराभरा बनाउन सबैको साथ चाहिने पनि बताए । 

सरसफाई अभियानको क्रममा भोला, गुट्खाको खोल अत्यधिक भेटिने गरिएको छ । यसले स्वास्थ्यलाई पनि असर भइरहेको हुन्छ भने जथाभावी फाल्ने खोलले पर्यावरणमा पनि असर पुगेको हुन्छ । ‘हामीले चाडै सुर्तिजन्य पदार्थ भोला, गुट्खा प्रतिबन्ध लगाउनुपर्छ भन्ने लागेको छ । त्यसमा अन्यथा मान्नुहुदैन, सुर्तिजन्य खाएर तलतल त मेटिन्छ होला तर प्राणघातक रोग पनि लाग्छ,’ उनले भने । 

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि भोला, गुट्खालगायत सुर्तिजन्य पदार्थलाई कानुन निर्माण गरेर प्रतिबन्ध लगाउनुपर्ने धारणा व्यक्त गरे । विराटनगर महानगरले ऐन बनाएर नै सुर्तिजन्य पदार्थ बिक्रीवितरणमा प्रतिबन्ध लगाएको छ । धरानमा पनि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्दै आएको छ । 

भिडियो:


भिडियो: