धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु पुनः आन्दोलित भएका छन् ।

गत कार्तिक २० गतेको सहमति अनुसार प्रमोसनको अन्तर्वार्ता सुचारू नभए पछि शिक्षक चिकित्सकहरु आजदेखी पुनः  आन्दोलित भएका हुन् । शिक्षक कल्याण समाजको अगुवाइमा आज बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडी घेराउ गरेका छन् । भोलि पनि बिहान ८ बजेदेखि १० बजेसम्म उपकुलपति कार्यालय अगाडि घेराउ गर्ने समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिए ।

यसैगरी, ४८ घण्टाभित्र पनि अन्तर्वार्ताको तालिका प्रकाशित नभए पुष २६ गतेदेखि विगतमा स्थगित पठनपाठन र परिक्षाका बहिष्कारलगायत पुर्ववत आन्दोलन अनुसार जिम्मेवारी बहिस्कार गर्ने पनि समाजले जनाएको छ । साथै, पुष २८ गतेसम्म तालिका प्रकशन नभए २९ गतेदेखि ईमर्जेन्सी, आईसियु, एनआईसियुबाहेक सम्पुर्ण सेवाहरु बहिस्कार गर्ने समाजले घोषणा गरेको छ । 

 यसअघि कार्तिक २० गते व्यवस्थापनसङ्ग भएको सम्झौता वमोजिम पुस २ गते सुरु गरि १५ गतेसम्म आवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ मन्त्रीको सहमति लिइ बाकी रहेको अन्तर्वार्ता सकाउने सहमति भएको थियो । हाल लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीले अनुमति दिए पनि अन्तर्वार्ता सुचारु नभएको समाजको भनाइ छ ।