धरान: यही पुष २७ गते (भोली) धरानमा साँस्कृतिक धिमेबाजा, बाँसुरी बाद्यवादन तथा राष्ट्रिय मौलिक जातीय लोक नृत्य (धें धें वल्ला) प्रतियोगिता हुने भएको छ । 

नेवाः साँस्कृतिक उत्थान मञ्चले बुधबार हेजिल क्याफेमा पत्रकार सम्मेलन गर्दै धरान ७ स्थित सिद्धि नेवाः पपिरषदको भवनमा कार्यक्रम गर्ने जानकारी दिएको हो । मञ्चकी अध्यक्ष ममता शाक्यका अनुसार उपप्रमुख अइन्द्रबिक्रम बेघाको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा संस्थाले निःशुल्क प्रशिक्षण दिएका प्रशिक्षार्थीहरुबीच धिमे बाजा प्रतियोगिता हुनेछ । 

संस्थाले ९ बर्षअघिदेखि शुरु गरेको कार्यक्रम विगत २ बर्षदेखि भने चोक चोकमा प्रस्तुत गर्ने गरिएको थियो । यसपाली भने कार्यक्रमलाई नौलोपन दिने उद्देश्यले धें धें वल्ला तथा धिमे प्रतियोगिता हुने शाक्यले बताइन् । संस्थाले कलाकारहरुलाई निःशुल्क प्रशिषण दिदै आएको र वडा १४, १५, ७ तथा नेवाः साँस्कृतिक कला पुञ्जका नयाँ विद्यार्थीहरुबीच प्रोत्साहनको निमित्त प्रतियोगितात्मक कार्यक्रम हुने उनले बताइन् । 

यो कार्यक्रमको मुख्य आकर्षण भनेको १५ सय बर्षदेखि ५ हजार बर्ष पुरानो नेवार जातिको मौलिकता बोकेको चर्या नृत्य देवीदेवताको प्रस्तुती रहेको नेवाः देय दबुका अध्यक्ष मनोहर शाक्यले जानकारी दिए । उनका अनुसार कौमारी नृत्य प्रस्तुत हुनेछ । काठमाण्डौंमा हाल पनि जिवित कौमारी छिन्, जसलाई तलेजु भवानीकोरुपमा पुजिन्छ ।

यस्तै, मञ्जु श्री नृत्य पनि प्रस्तुत हुनेछ । मञ्जु श्री शाक्य र बज्रचार्यहरुको मुल गुरु मानिन्छ । काठमाण्डौं उपत्यकामा जलमग्न भएको बेला उनले खड्गले छेदन गरेर काष्ठमण्डप शहर बसाएको किम्बदन्ती छ । यसैगरि, बज्रयोगीनी नृत्य पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । यी देवी मानव शरीरमा रहेका विभिन्न योगिनी दशाहरुलाई सुरक्षित राखी जीवन चक्रलाई सहजतापुर्वक सञ्चालन गर्ने विश्वास गरिन्छ । साथै, उनी राजा मणिचुड बोद्धिसत्व (काठमाण्डौं नमो बुद्ध) को रक्षार्थ उत्पत्ति भएको कथा रहेको छ ।