धरान: सधैं बिहान सबेरै भानुचोकको घण्टाघर पुर्वको ट्याक्सी स्टेण्डमा पहाडी रुटका ट्याक्सीसी र टेम्पोहरुको पार्किङ हुन्थ्यो । गाडीसङ्गै यात्रुहरूको ओहोरदोहोर र कोलाहलमय हुन्थ्यो ।

आज सबेरै भने त्यहाँको दृश्य फरक देखियो । ट्याक्सी स्टेण्डको उत्तरतर्फ बास्केटवल कोर्ट तयार थियो, र खेलाडीहरु खेलिरहेका थिए । ट्याक्सी स्टेण्ड बास्केटबल कोर्टमा परिणत भएको देखेर धरानेहरु पनि अचम्मित थिए । 

धरान बास्केटबल संघको आयोजना र किरात राई यायोखा सुनसरीको सहयोगमा आज खुल्ला महिला र पुरुष बास्केटबल प्रतियोगिता आयोजना भएको हो । किरात सम्बत यले दोङ ५०८४ को अवसरमा उक्त प्रतियोगिता भएको हो । 

स्ट्रीट बास्केटबल प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको आयोजक संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पनि किराती सस्कार अनुसार कठुवाबाट रक्सी छर्कदै र ढोल झ्याम्टा बजाएर गरिएको थियो । प्रतियोगितामा महिला, पुरुष गरि ३९ वटा टिमले सहभागीता जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफी र मेडल पुरस्कर पाउनेछ । साथै, मोष्ट भ्यालुएवल प्लेयरलाई पनि पुरस्कर दिइने आयोजक संघका सचिव एवं वास्केटवल प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए । उनले भानुचोकको ट्याक्सी स्टेण्ड राती खुल्ला हुने भएकोले बस्केटवल कोर्टको रुपमा प्रयोग गर्न सकिने बताए ।

वडा २ का अध्यक्ष रमेश राईले वडाले रात्रीकालिन बास्केटबल कोर्टकोरुपमा विकास गर्ने प्रतिवद्ता जनाए । साथै उनले रातीको लागि लाइट पनि व्यवस्थापन गर्ने बताए । कार्यक्रमको उद्घाटन समारोहलाई उपमेयर अइन्द्रबिक्रम बेघा, एन्फा प्रदेश अध्यक्ष किशोर राई, यायोक्खा केन्द्रिय सदस्य मानभागत चाम्लिङलगायतले सम्बोधन गरेका थिए ।