धरान: प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशको नाम कोशी राखिएको दिन फागुन १७ गतेलाई कालो दिनकोरुपमा मनाउने भएका छन् । 

संघर्ष समितिले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दे उक्त दिन प्रदेशभर आम हड्ताल गर्ने घोषणा पनि गरेको छ । साथै, स्थिति हेरेर हड्ताल अनिश्चितकालिन लैजान सक्ने पनि संघर्ष समितिले जनाएको छ । संयुक्त संघर्ष समितिको केन्द्रीय बैठक यही पुष २६ र २७ गते धरानस्थित चुम्लुङ हिममा सम्पन्न भएको थियो । सोही बैठकको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ पुनः नामाङ्कन समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले फागुन १७ गते डकैती शैलीमा कोशी नाम राखिएपछि पहिचानको आन्दोलन सशक्त बन्दै गएको समिक्षा भएको जानकारी दिए । 

बैठकले पहिचानको आन्दोलनलाई सशक्त बनाउन जिल्ला जनजागरण अभियान अन्तर्गत माघ १३ गते प्रदेशको १४ जिल्लामा प्रशिक्षण, भेला आयोजना गर्ने पनि निर्णय गरेको छ । साथै, यसको लागि केन्द्रीय प्रतिनिधि तोकिएको र संयुक्त संघर्ष समितिलाई वडा तहसम्म गठन, पुनः गठन र प्रशिक्षण पनि गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

बैठकले सरकारी तथा गैरसरकारी कार्यालयहरुमा कोशी नामको बोर्ड, लेटरप्याड, स्ट्याम्प राखिएको, चलाइएको भए सम्बन्धित कार्यालय प्रमुखहरुलाई हटाउन अनुरोध गर्ने र नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र संघर्ष समितिले माघ १३ गतेदेखि फागुन १० सम्म हटाउने, मेटाउने कार्यक्रम सम्पन्न गर्ने पनि निर्णय गरेको थेगिमले जानकारी दिए । 

बैठकले इलाम निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा पहिचानवादी शक्तिहरु एकतावद्ध भएर साझा उम्मेद्वार तय गर्ने पनि निर्णय गरेको छ । उक्त क्षेत्रका सांसद एवं एमाले नेता सुवास नेम्बाङको निधन भएको थियो । बैठकले पहिचानको आन्दोलन जनताको साझा नागरिक आन्दोलन भएकोले संघीय मन्त्री, सांसद, कर्मचारी, उद्योगी, व्यवसायी र शुभचिन्तकहरुसँग आर्थिक सहयोग अपिल गदै रकम संकलन पनि गर्ने निर्णय गरेको छ, तर प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुलाई भने कालो झण्डा प्रर्दशनलगायत पुर्वघोषित विरोध कायृक्रमहरुलाई निरन्तरता दिनेलगायत विभिन्न १० बुँदे निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । 

भिडियो: