धरान ः भानुचोकमा पैदल यात्रु हिड्दा यातायात मजदुरहरुले तानातान गरेर मान्छे एकातिर, झोला अर्कोतिर बनाएको थुप्रै घटनाहरु छन् । भानुचोकस्थित बसपार्क क्षेत्रको यो बेथिती अन्त्य गर्न अब भने वडाका जनप्रतिनिधि र ट्राफिक प्रहरी लागेका छन् । यसमा यातायात व्यवसायी र मजदुरहरुले पनि साथ दिएका छन् । 

निक्कै लामो छलफल गरेर पटक पटक सम्झाउदै आएको ट्राफिक, वडा २ का जनप्रतिनिधिहरुले मंगलबार (आज)देखि भने एक्सनमा उत्रिएका छन् । उनीहरुले भानुचोकमा हेल्प डेस्क राखेका छन्, र त्यहाँबाट निगरानी गर्नेछन् । यसको लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीबाट ७ जना र उपमहानगरपालिकाबाट ३ जना गरि १० जना अतिरिक्त जनशक्ति थपिएको छ । मंगलबार पनि जिल्ला ट्राफिक प्रहरी प्रमुख एवं इन्स्पेक्टर सुभास केसी, वडा नं २ का अध्यक्ष रमेश राईसहित टोलीले बस स्टेण्ड, टेम्पो स्टेण्ड, पहाडी रुटका गाडीहरुको स्टेण्डमा पुगेर सचेत गराएका छन् । 

yatru

ट्राफिक प्रहरी प्रमुख केसीका अनुसार अबदेखि चालक, सहचालक र टिकट काउन्टरका कर्मचारीहरुले परिचय पत्र झुण्डाउनुपर्नेछ । त्यसबाहेकका व्यक्तिहरुले यात्रु तानातान गरेमा तत्काल पक्राउ गरेर कानुनी कारबाही गरिने उनले बताए । वृद्धवृद्धाहरुको लागि ६ जना स्वयंसेवकहरु पनि यातायात व्यवसायीहरुले नै परिचालन गरेको पनि केसीले बताए । वडा २ का अध्यक्ष रमेश राईले भानुचोकको बसपार्कलाई सुरक्षित, व्यवस्थित बनाउन आफुहरु लागिपरेको बताए । यसमा प्रहरी प्रशासन, व्यवसायी र मजदुरहरुको पनि साथ रहेको भन्दै उनले सबै मिलेर नै व्यवस्थित हुने पनि बताए ।

भिडियो: