धरान: जापानस्थित आवर मार्ट फुनाबासीको प्रथम वार्षिकोत्सबको अवसरमा धरान–१७ मा रहेको सम्यक शिक्षा आधारभूत विद्यालयका विद्यार्थीलाई स्वेटर,जुत्ता तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

आवर मार्ट फुनावासीका सञ्चालकद्वय सुमित्रा राई र चेत बहादुर थापा मगरले मार्ट सञ्चालन भएको एक वर्ष पूरा भएको अवसरमा पठाएको उक्त सामग्री शुक्रबार वितरण गरिएको हो । मार्टकी सञ्चालक सुमित्राकी आमा सुनमाया राईले विद्यार्थीहरुलाई स्वेटर, जुत्ता, मोजा र शैक्षिक सामग्री वितरण गरेकी थिइन् ।

सुकुम्बासी समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका अति न्यून आर्थिक अवस्थाका १५ विद्यार्थीलाई स्वेटर, जुत्ता र मोजा वितरण गरिएको थियो भने सबै विद्यार्थीका लागि ५ सय ७६ वटा कपी, सय सय वटा पेन्सिल, डटपेन, इरेजर र कटन वितरण गरिएको थियो । कुल ४० हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको हो । विद्यालयमा एक सय साठी विद्यार्थी अध्ययनरत छन् ।

सो विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दाताहरुले यसरी दिएको सहयोगबाट शैक्षिक सामग्री वितरण गर्ने गरिएको विद्यालयकी शिक्षिका दीपा श्रेष्ठले बताईन् । विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालय भएकाले यो सहयोगले ठूलो राहत मिलेको बताएका छन् ।