धरान: रोटरी क्लब अफ धरानले आयोजना गरेको राष्ट्रियस्तरको १६ किलोमिटर साइक्लोक्रस १.० एमटिबि रेस काभ्रेका अच्युतकृष्ण खरेलले जितेका छन् । 

निर्धारित १६ किलोमिरको दुरी उनले ३६ मिनेटमा पुरा गर्दै रेस जितेका हुन् । धरानका दिप सागर तामाङ रेसमा दोस्रो भए भने एपिएफका लक्ष्मण मल्ल तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो भएका विजेताहरुले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार नगदसँगै मेडल, प्रमाणपत्र पुरस्कार हात पारे । 

cycle4

रेसमा महिलातर्फको फाष्टर राइडरको पुरस्कार धरानकी आशा लिम्बुले जितिन् । उनले नगद ५ हजार पुरस्कार पाइन् । ४० बर्षको उमेर माथि समुहका मास्टर फाष्टर राइडरको पुरस्कार धरानका ४२ बर्षीय पदम थापाले जिते । उनले पनि नगद ५ हजार हात पारे । यस्तै, १६ बर्षमुनिका खेलाडीहरुबीच आयोजित स्लो साइकल रेसमा अनुशिल कार्की प्रथम र कुसाङ शेर्पा दोस्रो हुदै क्रमशः नगद २ हजार र १ हजार, प्रमाणपत्र, मेडल पुरस्कार पाए ।

 धरानको भानुचोकबाट शुरु भएको रेस विभिन्न वडा तथा चोक हुदै धरान १५ खोरिया वस्तीस्थित जनता आधारभुत विद्यालयमा पुगेर समापन भएको थियो । रेस तथा फन राइडको उद्घाटन धरानका मेयर हर्क साम्पाङले रोबटमार्फत रिबन काटेर गरेका थिए भने समापन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाले पुरस्कार वितरण गरेका थिए ।

cycle2

साइक्लोक्रस १ रेससँगै च्यारिटी फन राइड रोटरी साइक्लोफन २.० पनि आयोजना गरिएको कार्यक्रम संयोजक विनयलाल श्रेष्ठले जानकारी दिए । रेस १६ किलोमिटरको थियो भने फन राइड मात्र ७ किलोमिटरको रहेको थियो । कार्यक्रम आयोजनाबाट संकलित रकम जनता आधारभुत विद्यालयमा विभिन्न खेल सामग्री निर्माण गरेर हस्तानतरण गरिने संयोजक श्रेष्ठले जानकारी दिए । 

सुनसरीसहित विभिन्न जिल्लाबाट १०५ जना खेलाडीहरु सहभागी भएको रोटरीकी सचिव दिभा श्रेष्ठले जानकारी दिइन् । आयोजकले प्रायोजक, खेलाडी दर्ता, रोटरीको फण्ड संकलन लगायतबाट विद्यालयहरुलाई खेलकुद सामग्री सहयोग गरिने सचिव श्रेष्ठले बताइन् ।

cycle race1

रोटरीले गत बर्ष पनि साइक्लोफन १.० च्यारिटी राइडबाट संकलित रकमले चोक्टीस्थित जन्मभुमी आधारभुत विद्यालयलाई पिङ, चिप्लेटीलगायत खेल सामग्रीहरु हस्तान्तरण गरिएको थियो । यो बर्ष भने साइक्लोफन २.० च्यारिटी राइडसँगै राष्ट्रियस्तरको रेस पनि आयोजना गरिएको रोटरीका अध्यक्ष शिवनन्द साहले बताए । फन राइड र रेस हरेक बर्ष आयोजना गरिने पनि उनले बताए ।

भिडियो: