धरान: तोकिएको समयसिमा (असार मसान्त) भित्र बजेट ल्याउन नसकेर चौतर्फी आलोचना र दबाबमा परेको धरान उपमहानगरपालिकाले शुक्रबार कार्यपालिका बैठक र नगरसभा गर्ने तयारी गरेको थियो । तर कार्यपालिका बैठक अघि बजेटमा सहमति जुटाउन बसेको आर्थिक विकास समितिसँगको बैठकमा लफडा भएको छ।

कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघासँग कांग्रेस संसदीय दलका नेतासमेत रहेका वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र एमालेका संसदीय दलका नेतासमेत रहेका वडा नं १५ का अध्यक्ष नरेश इवारमको लफडा भएको हो । यो लफडाले न आर्थिक विकास समितिको बजेटमा सहमति हुन सक्यो, न कार्यपालिका बैठक नै भयो । कार्यपालिका बैठकको लागि वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु दिनभर नै उपमहानगरमा आउजाउ गरिरहेका थिए भने नगरसभा हुने आशामा आएका वडाका सदस्यहरु पनि निराश भएर फर्कन बाध्य भए । 

आर्थिक विकास समितिको बजेटमा सहमति जुट्न नसकेपछि कार्यवाहक मेयरले नै वडा नं १५ र १८ का अध्यक्षलाई मध्यस्थताको लागि आग्रह गरेपछि दुवैजना उपमहानगरपालिका पुगेका थिए । छलफलकै क्रममा वडा १८ का अध्यक्ष राई र वडा १५ का अध्यक्ष इवारमबाट अमर्यादित र अश्लिल शब्दहरुले गालीगलौज गरेको कार्यवाहक मेयर बेघाले विज्ञप्ती जारी गर्दै जनाएका छन् । दुवै अध्यक्षबाट मर्यादा विपरीत व्यवहार गरिएपछि बैठकको वातावरण असहज बन्न पुगेको भन्दै बेघाले उक्त व्यवहारप्रति गम्भीर दुःख व्यक्त गर्दै खेद प्रकट पनि गरेका छन् । 

begha copy

‘आर्थिक समितिको बैठकमा संकटग्रस्त सहकारीलाई व्यवस्थापन गर्न ५ करोड छुट्याइएको थियो, पहिलादेखि नै त्यो हटाउनुपर्यो भनिरहेका थिए,’उनले भने, ‘अहिले चै घटाउनुपर्छ भन्दा मैले मानिन । भद्र सहमति भएकोले वडा न १८ र १५ का अध्यक्षलाई त्यो बैठकमा बोलाएको थिए । तर टेवल ठोकेर तथानाम गालीगलौज गर्नुभयो । मलाई दुःखी बनाएको छ ।’

बेघाले बजेट निर्माण प्रक्रिया समयमै सम्पन्न गर्ने उद्देश्य भएपनि केही वडाअध्यक्षहरुबाट पटक पटक भएको सहमतिहरु कार्यान्वयन नगर्ने, समयमा नै बजेट प्रस्तुत हुन नदिने, अवरोध गर्ने, नगरबासीको हितसँग सम्बन्धित योजना, कार्यक्रमहरु कटौती दिन निरन्तर दबाब दिइरहेको पनि विज्ञप्तीमा खुलाएका छन् । 

मध्यस्थता गर्न बोलाएर कार्यवाहक आफै शुरुमा टेवल ठोकेर उफ्रिएको हो: वडाअध्यक्ष राई 

कांग्रेस संसदीय दलका नेता एवं वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले भने आर्थिक विकास समितिमा सहमति नभएपछि कार्यवाहक मेयरले नै मध्यस्थता गर्न बोलाएर आफुहरु बैठकमा पुगेको बताए । 

आफुहरुले समितिका संयोजक र सदस्यहरुसँग सरसल्लाह गरेर दुवै पक्षलाई मिलाउने गरि प्रस्ताव गरेलगत्तै कार्यवाहक मेयर बेघा त्यो हुदैन भन्दै एक्कासी टेवल ठोकेर उफ्रिएको र असहज अवस्था सृर्जना गराएको अध्यक्ष राईले बताए । 

‘कुरा मिलेन, तपाईहरु आएर मिलाइदिनुपर्यो भनेपछि हामी बैठकमा गएका थियौं । हामीले कुरा गरेर कन्भिन्स गरेपछि कार्यवाहकलाई ल यसो गरौं न त भनेका थियौं,’ अध्यक्ष राईले भने, ‘हामीले नयाँ प्रस्ताव भनेको मात्र थियौं, कार्यवाहक आफै त्यसरी हुदैन भनेर उफ्रिएर टेवल ठोकेको हो ।’

कार्यवाहक मेयर बेघाले बजेट निर्माण प्रक्रियामा सहीरुपमा समन्वय र नेतृत्व गर्न नसकेकै कारण धरान बजेटविहिन अवस्थामा भएको पनि अध्यक्ष राईले बताए । ‘पहिलो निवर्तमान मेयर हर्क साम्पाङ राईले समन्वय गर्न जानेन, एकलौटी गर्यो भन्ने, अहिले आफैले आफुखुशी गर्ने, समन्वय नगर्ने गरेर यस्तो भएको हो,’ अध्यक्ष राईले थपे,‘कार्यवाहकको विज्ञप्ती, आरोप र सत्यतथ्यबारे हामी पत्रकार सम्मेलन गरेर विस्तृत भन्नेछौं । हाम्रो कारणले होइन, कार्यवाहककै कारण नगरसभा नभएको हो ।’

खास विवाद के हो ?

यो आर्थिक बर्ष अन्तिम कार्यकाल भएकोले यो चुनावी बजेट हो । त्यसैले असार मसान्तमा पारित गरिसक्नुपर्ने बजेट आज साउन तेस्रो साता भइसक्दा पनि आफ्नो पकेट क्षेत्र र योजनामा पैसा छुट्याउन धरानका जनप्रतिनिधिबीच रस्साकस्सी छ । 

बिषयगत समितिको विवाद मिलाउने क्रममा आर्थिक विकास समितिको बजेटमा हलो अड्किएको छ । कार्यवाहक मेयरले ५ करोड बजेट संकटग्रस्त सहकारी व्यवस्थापनको लागि विनियोजन गरेका छन् । सहकारी आर्थिक विकास अन्तर्गत पर्ने भएपनि कार्यवाहक मेयर बेघाले उक्त समितिलाई ब्रेकडाउन गर्न नदिइ आफैले ५ करोड राख्नैपर्ने अडान लिएपछि गाँठो नफुकेको वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु बताउछन् ।  

उक्त समिति संयोजक एवं कार्यपालिका सदस्य विनिता बज्रचार्यलगयातले भने आर्थिक विकास समितिले ब्रेकडाउन गर्नुपर्ने भएकोले समितिले निर्णय गर्ने भन्दै रकम घटाउनुपर्ने भनिरहेका थिए । कार्यवाहक मेयर बेघालाई सहकारीको १ करोड घटाएर पर्यटनतर्फ दिने र सडक मर्मतको शिर्षकबाट ल्याएर ५ करोड नै बजेट बनाइदिने प्रस्ताव गर्दा पनि नमानेर केटाकेटीपनको जिद्दी व्यवहार देखाएर अडान कसेपछि सहमति जुट्न नसकेको अध्यक्ष राईले बताए । 

आगामी चुनावमा सहाकारी पीडितहरुको भोट तान्न कार्यवाहक मेयरले आर्थिक विकास समिति मातहतबाट ब्रेकडाउन हुनुपर्ने बजेटलाई आफ्नै तजविजमा रहने गरि विनियोजन गर्न दबाब दिएको वडाअध्यक्षहरुको आरोप छ । ‘यो सहकारीको ५ करोड त एउटा उदाहरण मात्र हो, कार्यवाहकले नगर गौरवमा ११ करोड, नगर प्रमुख भिजनमा ३ करोड, सडक मर्मतसम्भारमा ४ करोड आफुखुशी योजनाहरु राखेका छन् । यो भन्दा अझै धेरै बजेट त्यसरी नै विनियोजन गरेको छ,’ वडा १८ का अध्यक्ष राईले भने । 

press copy