धरान: सरसफाई शाखामा कार्यरत सफाईकर्मी मन्दिप राईको अकास्मत निधन भएपछि धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ । 

२०८१ भदौ १ गतेदेखि कार्यरत सफाईकर्मी राईको आज बिहान निधन भएको हो । उनको निधन भएपछि कार्यवाहक नगर प्रमुख स्तरीय निर्णयबाट आज बिहिबार एक दिन नगर कार्यपालिकाको कार्यालय तथा अत्यावश्यक सेवाबाहके मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरुमा शोक विदा दिने उपमहानगरपालिकाले जनाएको छ । 

शोक विदाको कारण आज बिहान ९ बजे बस्ने भनिएको कार्यपालिका बैठक पनि बस्न सकेन भने नगरसभा पनि स्थगित गरिएको कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले जानकारी दिए । उनले भने,‘शोक भएपछि औपचारिक कार्यक्रमहरु सबै स्थगित भयो ।’

शोक विदाले आज स्थगित भएको कार्यपालिका बैठक र नगरसभा भोली शुक्रबारलाई सारिएको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले भने,‘आज शोक विदाको कारण बैठक र नगरसभा नहुने भयो, र भोलीलाई सारिएको छ । बिहान ९ बजे कार्यपालिका र दिउँसो १ बजे नगरसभा हुन्छ ।’

स्थानीय सरकारले असार १० गतेभित्र बजेट नगरसभामा पेश गर्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने भएपनि धरान उपमहानगरले बजेट ल्याउन सकेको छैन । नयाँ आर्थिक बर्ष लागिसक्दा पनि बजेट ल्याउन नसक्दा धरान बजेटविहिन अवस्थामा छ । 

प्रवक्ता भट्टराईका अनुसार बजेटविहिन अवस्थामा अत्यावश्यक सिफारिशबाहेक सम्पुर्ण कामहरु ठप्प छ । 'घरबाटो, नाताप्रमाणित, नागरिकता जस्ता अत्यावश्यक सिफारिशहरु पुरानै शुल्क लिएर भइरहेको छ, अन्य कामहरु सबै ठप्प छ,' उनले भने ।