धरान: वि.स.१८३१ साउन २२ गते तत्कालिन गोरखा राज्य र अरुण पुर्व लिम्बूवानबीच भएको सन्धीलाई लिम्बूवानजन्य राजनीतिक तथा सामाजिक संघसंस्था र संगठनहरुको हेर्ने दृष्टिकोण फरक फरक थियो । 

त्यसैले कुनै संगठन कालो दिन भन्दै अरुण पुर्वका ९ जिल्ला बन्द गर्न सडकमा उत्रदा कोही भने बन्द कोठाभित्र छुट्टै कार्यक्रम आयोजना गरिरहेका हुन्थे । फरक दृष्टिकोणकै कारण साउन २२ मा एकठाउँमा उभिन नसकेका लिम्बूवानजन्य संघसंस्था एवं राजनीतिक संगठनहरु यसपाली भने एकैठाउँमा उभिने भएका छन् । साउन २२ गते (शुक्रबार) किरात याक्थुङ चुम्लुङको समन्वयमा करिब २ दर्जन संघसंस्था तथा संगठनहरु धरानको भानुचोकमा भेला भएर ऐतिहासिक कार्यक्रम गर्ने भएका छन् । 

उक्त कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा चुम्लुङका संघीय अध्यक्ष गोविन्द आङबुङले विभिन्न विचार र दृष्टिकोण भएका याक्थुङहरुले यसपाली साउन २२ गतेको सन्धीलाई लिएर एउटै दृष्टिकोण बनाएर अगाडि बढ्ने सैद्धान्तिक सहमति अनुसार धरानमा शुक्रबार कार्यक्रम आयोजना गरिएको बताए । उनले भने,‘विगतमा फरक फरक दृष्टिकोण भएता पनि विस १८३१ साउन २२ गते अग्रजहरुले जे सहमति गरे, त्यसलाई सिरोधार्य गर्दै अगाडि बढ्ने सैद्धान्तिक सहमतिको आधारमा भोली कार्यक्रम गर्दैछौं।’

chumlung

कार्यक्रममा तत्कालिन गोरखा राज्य र लिम्बूवानबीच भएको सन्धीको बारेमा सत्य र न्यायको पक्षमा इतिहास उजागर गरिने पनि अध्यक्ष आङबुङले बताए । ‘राज्य राज्यबीच भएको सन्धीलाई प्रष्ट पाछौं, प्रत्येक जिल्लाबाट प्रधानमन्त्रीलाई पठाएको पत्र वाचन गछौं । लालमोहर पनि वाचन गछौं,’ उनले थपे,‘यो कसैको लागि गरिएको होइन, सत्य र न्यायको लागि हो । लिम्बू समुदाय र राष्ट्रकै समृद्धिको लागि हो । सत्य जे छ, त्यो सबैको लागि उजागर हुन्छ ।’

किरात राई यायोक्खाको पनि शुक्रबार नै स्थापना दिवसको कार्यक्रम भएकोले द्धन्द होला कि भन्ने प्रश्नमा अध्यक्ष आङबुङले चुम्लुङको समन्वयमा आयोजित कार्यक्रममा १८३१ साउन २२ को सन्धीको वास्तविकता मात्र प्रष्ट पारिने भएकोले कोही पनि त्रसित वा आत्तिनु नपर्ने पनि अध्यक्ष आङबुङले बताए । किरात राई यायोक्खासँग र प्रशासनसँग पनि दिउँसो १ देखि ५ बजेभित्र कार्यक्रम सकेर ठाउँ खाली गर्ने, त्यसपछि यायोक्खाले दिपप्रज्वलन कार्यक्रम गर्ने समझदारीलाई पालना हुने भएकोले पनि कुनै समस्या नहुने उनले जिकिर गरे । 

chumlung3

विजयपुर दरबार क्षेत्रको सन्दर्भमा राई र लिम्बू समुदायबीच भइरहेको विवादबारे पनि अध्यक्ष आङबुङले आपसी छलफल, संवादबाट नै समाधान खोजिने भएकोले एकअर्कालाई गालीगलौज, आरोप प्रत्यारोप नगर्न पनि उनले आग्रह गरे । 

चुम्लुङका धरान अध्यक्ष एवं विजयपुर दरबार क्षेत्र संरक्षण संघर्ष समितिका संयोजक तीर्थ मादेम्बाले पनि आफुहरुको कार्यक्रम शान्तिपुर्ण र समझदारी अनुसार नै रहने बताए । उक्त कार्यक्रम भव्यरुपमा आयोजना हुने भएपनि कुनै पनि राजनीतिक दलको झण्डा, कुनै फोर्सहरुको टिसर्ट पनि प्रयोग हुने मादेम्बाले खुलाए । ‘तपाईहरु ढुक्क हुनुस्, यायोक्खा र हामीले प्रहरी, प्रशासनसँग पनि पटक पटक छलफल र समझादारी गरेका छौं । हाम्रो कार्यक्रम शान्तिपुर्ण हुन्छ, आन्दोलित हुदैनौं । पार्टी झण्डा पनि हुदैन, फोर्सको टिसर्ट पनि हुदैन, मात्रै लालमोहर र सन्धीको धारणा राख्छौं,’ उनले भने ।

भिडियो: