धरान: धरान १७ स्थित सप्तरंगी पार्कको जग्गालाई सरकारी बजेटबाट नै घेराबारा गरेर संरक्षण गरिएको छ । घेराबारा र केही संरचनाहरु निर्माणमा यो पार्कमा करोडौं खर्च भइसकेको छ ।

घेराबारा गरेर संरक्षण गरिएको सप्तरंगी पार्कभित्र आफ्नो जग्गा पर्यो भन्दै केही व्यक्तिहरुले पिलर गाडेर घेराबारा गरेको पाइएको छ । आज (बिहिबार) मेयर हर्क साम्पाङले सप्तरंगी पार्कभित्र सरसफाई कार्यक्रम लिएर पुगेपछि मात्र व्यक्तिले आफ्नो जग्गा भन्दै पिलर गाडेको खुलेको थियो । मेयर साम्पाङले तत्काल पिलर उखेल्न निर्देशन दिएका थिए । साथै, नगरमा जानकारी नदिएको भन्दै हेरालु (चौकीदार)लाई लिखित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिएका थिए । 

मेयर साम्पाङले पार्कको जग्गामा को व्यक्तिहरुले पिलर गाडेर कब्जा जमाउन खोजेको हो भनेर तत्काल खोजी गर्ने बताए । ‘कस्ले बारेको, किन बारेको म सबै खोज्छु । यस्ता पार्क संरक्षण गर्नुपर्छ, यो धराने जनताको सम्पत्ति हो । सार्वजनिक जग्गा, पार्क सबै जनताको हो, र संरक्षण गर्ने दायित्व, जिम्मेवारी पनि सबैको हो,’उनले भने ।

saptarangi1

वडा नं १७ का वडा सदस्य मनिष बिष्टले केही व्यक्तिहरुले जग्गा धनीपुर्जासहित आएपछि वडा नं १७ को कार्यालय, नापीका अमिनले जग्गा नापजाँच गरेको र जग्गाधनीहरुले नै पिलर गाडेको जानकारी दिए । उनका अनुसार करिब ६ महिना अगाडि पार्कभित्रको जग्गामा नापचाज भएको हो । आफुहरु सानै हुँदादेखि उक्त क्षेत्रमा सप्तरंगी पार्क देखेको भएपनि जग्गा धनीपुर्जासहित व्यक्तिहरु आएकोले नापजाँच रोक्न नसकेको उनले बताए ।

उनले यसबारेमा मेयर साम्पाङ पनि जानकारी दिएको र जग्गाधनी भनिएका व्यक्तिहरुले निवेदनसहितको फाइल पनि उपमहानगरपालिकामा पुर्याइसकेको जानकारी दिए । उनले पनि उक्त क्षेत्र सप्तरंगी पार्कभित्रकै भएकोले व्यक्तिको नाममा भएपनि उनीहरुलाई केही क्षतिपूर्ति दिएर भएपनि लिनुपर्ने बताए । जग्गा नापजाँच गर्न आउनेहरुले २० बर्षअघि तिर जग्गा किनेको जानकारी आफुहरुलाई दिएको बिष्टले बताए । ‘त्यतिबेला पश्चिम उत्तर डाँडापट्टी घेराबारा थिएन । त्यो डाँडामाथिको जग्गा हो भनेर बेचेछन्, तर जग्गा पार्कभित्र थिएछ,’विष्टले भने ।

पुर्वनगरप्रमुख ध्यानबहादुर राईले सर्दु खोलाको बाढी पसेर बगर बनेको क्षेत्रलाई सप्तरंगी पार्ककोरुपमा विकास गरेका थिए । बाढी पस्नुअघि व्यक्तिको जग्गा भएकोले सप्तरंगी पार्कको जग्गाहरु अहिले पनि व्यक्तिकै नाममा भएको अनुमान गरिएको छ । वडा सदस्य विष्टका अनुसार विभिन्न व्यक्तिहरुले १० कट्टा हाराहारीमा जग्गा दाबी गरेका छन् । 

भिडियो:

भिडियो: