धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अन्तर संकाय स्तरिय खेलकुद प्रतियोगिता हुने भएको छ । 

स्वतन्त्र विद्यार्थी युनियन, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानको आयोजनामा फागुन २४ गतेदेखि चैत ५ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक स्ववियुले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस, चाइनिज चेकर, चेस, इ–गेम जस्ता खेलहरु समावेश गरिएको जानकारी दिएको छ । 

क्याम्पसको प्राङ्गणमा हुने प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा हुने स्ववियुका अध्यक्ष अभिनव गुरागाँईले जानकारी दिए । उक्त समयमा नै भिसी कप तथा प्रधानमन्त्री कपको विजेतालाई सम्मान गरिने पनि उनले बताए । प्रतियोगिताको समापन भने कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।