धरान: न्यु रोड टिम (एनआरटि) र मोरङ फुटबल संघ शनिबार २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा भिड्दैछन् । 

धरान १६ स्थित रंगशालामा हुने फाइनल निक्कै रोमाञ्चक हुनेछ । मोरङ पहिलो पटक फाइनल खेल्न लागेकोले नयाँ च्याम्पियन बनेर इतिहास बनाउने दाउमा छ भने एनआरटि १६ बर्ष अघिको इतिहास दोहोर्याउन चाहन्छ । एनआरटिले यसअघि २०६४ सालमा १० औँ सँस्करण जितेको थियो । 

एनआरटिका मेनेजर रामेश लामाका अनुसार यो सिजनमा इलाम गोल्डकप जितेको र मकवानपुर, केपी ओली कपको उपविजेता भइसकेकोले खेलाडीहरु लयमा छन् । धरानमा फाइनल पुगेकोले मनोवल उच्च छ भने युवा खेलाडीहरु भएको कारणले फाइनल जित्नेमा उनी ढुक्क छन् । कप्तान पुजन होना पनि खेलाडीहरुमा राम्रो टिमवर्क भइरहेकोले फाइनल जित्ने दाबी गर्छन् । 

अर्को फाइनलिष्ट टिम मोरङमा अधिकांश ए डिभिजन क्लबका अनुभवी खेलाडी भएकोले कमजोर छैन् । खेलाडीहरु युवा छन्, र आपसमा राम्रो तालमेल छ ।  प्रशिक्षक रानु राना मगर एनआरटि राम्रो र वलियो टिम भएपनि आफुहरु जितेर उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताउछन् । क्याप्टेन अशोक खवासले पनि कमजोरी नदोहोरिने गरि आफुहरु मैदानमा उत्रने र च्याम्पियन बनेरै छोड्ने बताए । 

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख हात पार्नेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार हात पार्नेछन् । 

भिडियो: