धरान: विगत ६ दिनदेखि अवज्ञा आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित फार्मेसीमा कार्यरत फार्मेसी सहायक कर्मचारीहरु काममा फर्किएका छन् । 

फार्मेसी सहायकहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै विभिन्न ४ बुँदे माग राखेर काममा फर्किने घोषणा गरेका हुन् । यसअघि उनीहरु फागुन २७ गतेदेखि सेवा रोकेर अवज्ञा आन्दोलनमा थिए । प्रतिष्ठानको अस्पतालमा विगत ६ बर्षभन्दा बढी समयदेखि कार्यरत रहेपनि हालसम्म केटिएम सेक्युरिटी सर्भिस अन्तर्गत राखेर काम गराइरहेको उनीहरुको गुनासो छ । शुरुवातमा केही समयपछि अस्पतालकै कर्मचारीकोरुपमा नियुक्ती दिने आश्वासन दिएपनि हालसम्म पुरा नभएको उनीहरुको भनाई छ । 

प्रतिष्ठानको फार्मेसीमा ३६ जना कर्मचारीको आवश्यकता भएपनि १८ जनाले तोकिएको भनदा बढी काम गर्दे आएको उनीहरुको भनाई छ । पछिल्लो समय ६ महिनादेखि तलब नदिएको र केही दिनअघि मात्र ३ महिनाको तलब घटाएर दिएको उनीहरुको गुनासो छ । 

फार्मेसी सहायकहरुले काममा फर्किने घोषणा गर्दै प्रतिष्ठानको फार्मेसीमा सम्पुर्ण आवश्यक औषधीहरु उपलब्ध गराउन माग गरेका छन् । औषधीहरु पर्याप्त नहुँदा सर्वसाधारण सेवाग्राही, विरामी र आफन्तहरु कार्यरत कर्मचारीलाई दोष दिने, गालीगलौज गर्ने र अस्पताल बाहिरका मेडिकलसँग मिलेमतो रहेको आरोप लगाउने गरेको उनीहरुले गुनासो गरेका छन् ।

यस्तै, फार्मेसी सञ्चालन भएदेखि १३ हजार ५ सय तलबबाट शुरु भएको र गत बर्षको मासिक २२ हजार ५ सय तलब बुझेपनि हाल ३ महिनाको तलब घटाएर १६ हजार ७९४ मात्र दिएर श्रमशोषण गरेको उनीहरुले बताएका छन् । राज्यले फार्मेसी सहायकहरुलाई पाँचौ तह अन्तर्गत राखेकोले सोही तह अनुसार तलब, सेवा सुविधा उपलब्ध गराउन पनि उनीहरुको माग छ । 

यसैगरि, अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को दफा १० मा अस्पतालले फार्मेसी सञ्चालनको लागि स्थायी जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएकोले सोही अनुसार प्रतिष्ठानकै स्थायी जनशक्तिकोरुपमा नियुक्ती गराउन पनि उनीहरुको भाग छ । साथै, प्रतिष्ठानको ४ वटा फार्मेसी डिपो रहेको र प्रतिडिपो ८ घण्टाको सिफ्टलाई ३ जना कर्मचारी, २४ घण्टाको ३ सिफ्टलाई १२ जना र २४ घण्टामा ४ वटै फार्मेसी डिपो सञ्चालन गर्न ३६ जना फार्मेसी सहायक कर्मचारी आवश्यक पर्ने भएपनि १८ जनाले मात्र सबै जिम्मेवारी वहन गर्नुपरिरहेको गुनासो छ । यसले गर्दा विदासमेत नलिई तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने र खाना, खाजा खाने तथा शौचालय जान पनि समस्या हुने भएकोले आवश्यक कर्मचारी नियुक्ती गरिदिन उनीहरुको माग छ । 

भिडियो: