धरान: एमाले नेता सुवास नेम्वाङको निधन पछि रिक्त भएको ईलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा पहिचानवादी दलहरु र धरानका मेयर हर्क साम्पाङबीच सहकार्य हुने भएको छ । 

पहिचानवादी दलका नेताहरु र मेयर साम्पाङबीच आज बिहान भएको भेटवार्तामा उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डेकेन्द्र थेगिमलाई जिताउन सहयोग गर्ने समझदारी भएको हो । छलफलपछि मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै स्वतन्त्र उम्मेद्वार भएकोले थेगिमलाई आफ्नो पनि साथ, समर्थन रहने बताए । थेगिम प्रदेश नं १ पुनःनामकरण संयुक्त संघर्ष समितिका अध्यक्षसमेत हुन् । उनलाई पहिचानवादीहरुले साझा उम्मेद्वारकोरुपमा अघि सारेको छ ।

हिजो साँझ पनि मेयर साम्पाङ र जसपाका संघीय परिषद अध्यक्षसमेत रहेका पुर्वमन्त्री एवं सांसद अशोक राई र शुशिला श्रेष्ठबीच भेटको क्रममा इलाम २ को उपनिर्वाचनबारे पनि छलफल भएको थियो । यसअघि मेयर साम्पाङले नेकपा माओवादी केन्द्र निकट पत्रकार मिलन लिम्बुलाई समर्थन गर्ने संकेत गरेका थिए । लिम्बुले पत्रकारिता त्यागेर स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गर्दै मेयर साम्पाङसँग भेट पनि गरेका थिए । तर लिम्बु पछिल्लो समय टिकट पाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तिर नजिकिएको थाह पाएपछि मेयर साम्पाङले उनीविरुद्ध फेसबुकमा स्टाटस नै लेखेका थिए । 

पहिचानवादी नेता एवं राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले ईलाम २ को उपनिर्वाचनमा पहिचानवादी शक्तिहरु एकजुट भएको र मेयर साम्पाङको पनि समर्थन भएकोले स्वतन्त्र उम्मेद्वार थेगिमको जित निश्चित भएको बताए । उनले थेगिम कुनै पनि पार्टीको चुनाव चिह्न नलिई स्वतन्त्र उम्मेद्वार हुने भएकोले सबैले साथ, सहयोग गर्ने महोल बनेको पनि बताए । ईलाम २ को उपनिर्वाचनमा एमालेले स्वर्गीय नेता सुवास नेम्बाङका छोरा सुहाङ लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । 

भिडियो: