धरान: कार्यपालिका बैठकमा एजेण्डा पेश भएपछि आ आफ्नो धारणा राख्ने, विवाद हुने वा एजेण्डा बहुमतले पारित हुने वा नहुने सामान्य प्रक्रिया नै हो । तर, धरानको कार्यपालिका बैठकमा भने असामान्य लाग्ने दृष्य दोहोरिरहन्छ ।
एजेण्डामाथि छलफल, बहस मात्र होइन, लफडा परेर बैठक नै स्थगित हुने गरेको छ । आज (बिहिबार) पनि त्यस्तै भयो । बैठकमा सञ्चारकर्मीहरुलाई प्रवेश गर्न र भिडियो खिच्न अनुमति पनि दिइएकोले पनि धरानको कार्यपालिका बैठकको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्ने गरेको छ ।
आजको बैठकमा एजेण्डाहरु सकिन लाग्दा विवाद सृर्जना भएको थियो । खास गरि एजेण्डा नं १४ मा रहेको कानुन तर्जुमा मस्यौदा समिति गठनबारे चर्को विवाद भयो । विधेयक मस्यौदा तर्जुमा गर्न प्रमुख (मेयर) संयोजकत्वमा कार्यपालिकाले तोकिएको सदस्यहरु रहने गरि कानुन तर्जुमा समिति गठन गर्न एजेण्डा पेश भएको थियो । उक्त एजेण्डामा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले मर्यादामा नगरसभाले बनाएको विधायन समितिभन्दा कम भएकोले मेयर संयोजक नबस्न र उपमेयरलाई संयोजक बनाएर लैजान प्रस्ताव गरेका थिए । तर, मेयर साम्पाङ आफै संयोजक बस्ने अडान लिएका थिए ।
वडा नं १५ का अध्यक्ष नरेश इवारमले नगर प्रमुख वा उपप्रमुख मध्ये एक संयोजक बस्ने भन्ने व्यवस्था भएको र नगर प्रमुख समग्रमा निरीक्षण, अनुगमन गर्ने जिम्मेवारी पनि भएकोले उपप्रमुखलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए । समितिको सदस्यहरुमा विद्या शाक्य, रुपेश आचार्य, विवेक राई, सावित्री परियार, कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए । तर, मेयर साम्पाङले संयोजक तोक्ने आधिकार आफुलाई रहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।
कार्यपालिका सदस्य दिनेश गजमेरले मेयरको संयोजकत्वमा बनेको समितिले बनाएको विधेयकलाई नगरसभाले बनाएको विधायन समितिले रोक्नसक्ने भएकोले उक्त समितिमा मेयर आफै बस्न उचित नहुने धारणा राखेका थिए । तर, मेयर साम्पाङले समिति संयोजकमा आफै बस्ने अडान लिएपछि उक्त एजेण्डमा सहमति हुन सकेन ।
यस्तै, अर्को विविधमा समावेश गरिएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रादेशिक कार्यालयको लागि धरान १६ स्थित कृषि विकास बैंकको स्वामित्वमा रहेको भवन मर्मत गर्ने एजेण्डामा भने लफडा नै पर्यो । वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले उक्त भवन प्रयोग गर्नेबारे बैंक, प्रतिष्ठान र नगरबीच भएको सम्झौता देखाउनुपर्ने र भवन मर्मत गर्न लाग्ने खर्चको स्रोत पनि खुलाउनुपर्ने माग गरेका थिए ।
तर, मेयर साम्पाङले प्रतिष्ठानको कार्यालय धरानमा राख्ने विगतमै निर्णय भइसकेको जिकिर गर्दै मर्मत गर्ने निर्णय मात्र गर्न आग्रह गरेका थिए । उनले मर्मत गर्ने खर्चको स्रोत खोज्ने जिम्मा आफ्नो भएको र सम्झौता प्रशासनमा बैठक पछि गएर हेर्न आग्रह गरेका थिए । यो एजेण्डामा चर्काचर्की भएपछि बैठकमा पारित हुन सकेन । सोही एजेण्डामा उपमेयर अइन्द्रबिक्रम बेघाले बोल्न खोज्दा खोज्दै मेयर साम्पाङले विविधको अर्को एजेण्डा पढ्न थालेका थिए । तर, एक्कासी मेयर साम्पाङले बैठक स्थगित भयो भनेर उठेर हिडेका थिए ।
उपमेयर बेघाले पत्रकारलाई प्रतिक्रिया दिदै आफुले सबैको भावना जोडेर अघि बढ्न आग्रह गर्न खोज्दाखोज्दै मेयरले बोल्न नदिएको र आफै बैठक स्थगित गरेर हिडेको बताए । उनले भने,‘यसरी झगडा गरेर हुदैन, मिलेर जानुपर्छ । संस्थागत कुरा गरौं, सबैको भावना जोडेर जाउ भन्न खोजेको थिए । बौल्न दिनुभएन र फेरि आफै उठेर हिड्नुभयो । उहाँले सबैलाई समेट्ने हो नि ।’
भिडियो: