धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी पहाडी जिल्लाका पाँच वटा जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु भएको छ । 

प्रतिष्ठानमा बिहिबार आयोजित एक कार्यक्रम बीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले उक्त टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको सहप्रवक्ता डा.अरुणकुमार सिंहले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोशी प्रदेश सरकारको संयुक्त सहकार्यमा संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङको जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु गरेको हो ।

प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गर्ने र जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकेको विशेषज्ञ सेवा प्रदान गर्ने यो कार्यक्रमको उद्देश्य रहेको छ । उक्त टेलिमेडिसिन कार्यक्रमले जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत सेवाग्राहीहरुले प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूसँग सम्पर्क स्थापित गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

सेवा उद्घाटन कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेशभरीका स्वास्थ्य संस्थाहरुमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताको चर्चा गरेका थिए । उनले स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरूसँग सहकार्य गरि अगि बढ्न चाहेको बताए ।

प्रतिष्ठान अन्तर्गत ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्रा डा नरेन्द्र भट्टले कार्यक्रमको प्रभावकारिता र दिगोपनको सम्बन्धमा आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा टेलिमेडिसिन कार्यक्रमका मेडिकल कोअर्डिनेटर डा प्रमेन्द्र प्रसाद गुप्ताले प्रतिष्ठान अन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रमले डिजिटल हेल्थको क्षेत्रमा नेपालमै अग्रणी भई गरेको बताए ।