धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा धरान भेट्रान र हाम्रो धरान भेट्रान फुटबल क्लब बिजयी भएको छ ।

धरान १६ स्थित रंगशालामा सोमबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धरान भेट्रानले कन्काई भेट्रान फुटबल क्लबलाई १०-२ को फराकिलो गोल अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । धरान भेट्रानका डिल्लीराम श्रेष्ठ (मिलन)ले खेलको ह्याट्रिकसहित एक्लैले ५ गोल गरे भने मित्र वस्नेतले पनि ह्याट्रिक गरेका थिए । यस्तै, बिकर्ण श्रेष्ठ र कृष्ण शाक्यले १ /१ गोल गरेका थिए । 

कन्काईको लाग पलुम किपगेम र धनश्याम दहालले १/१ गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याचे धरान भेट्रानका डिल्लीराम श्रेष्ठ (मिलन) घोषित हुदै नगद २१ सय र मेडल प्राप्त गरे ।

यसैगरि, सोमबार नै भएको दोस्रो तथा चौथो क्वाटर फाईनल खेलमा हाम्रो भेट्रान क्लब धरानले हाम्रो भेट्रान क्लब इटहरीलाई ट्राब्रेकरमा ४-२ गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेलमा दुबै तर्फबाट १/१ बराबरी गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । निर्धारित समयको खेलमा कुमार तामाङले गोल गर्दै हाम्रो धरान भेट्रानलाई खेलमा अग्रता दिलाएका थिए । तर, इटहरीका गोविन्द श्रेष्ठले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा हाम्रो भेट्रानका पदम राई, सन्तोष राई, राज आले मगर र सुरज श्रेष्ठले गोल गरे भने राकेश राईको प्रहार बाहिरिएको थियो । हाम्रो इटहरी भेट्रानका कमल बस्नेत र निर्मल तामाङले मात्र गोल गरेका थिए । जीवन सुबेदी र गोबिन्द श्रेष्ठको प्रहार धरानका गोल किपरले रोकेपछि धरान सेमीफाइनल प्रवेश गरेको हो । 

खेलको म्यान अफ द म्याच हाम्रो धरानका गोलकिपर देब सिंह घोषित हुँदै नगद २१ सयसहित मेडल हात पारे । मंगलबारको अन्तिम क्वाटरफाईनल खेल लखनपुर भेट्रान फुटबल क्लब दमक र काकडभिट्टा भेट्रान फुटबल क्लबबिच दिउँसो साढे २ बजे हुने आयोजकले जनाएको छ ।