धरान: बैशाख ८ गते शनिबार धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दराको लाइभ कन्सर्ट हुने भएको छ ।

कन्दरा आफ्नो नयाँ टिमअपसहित 'कन्दरा लाईभ इन धरान' सांगीतिक कार्यक्रम मार्फत प्रस्तुती दिने भएको हो । कन्दराले ६ बर्ष अघि धरानसंगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट गरेको थियो । कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्र्याएका हरि महर्जन पनि छन् । यस्तै, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ।  

यो टिम जुटे संगै कन्दराले 'बिचरा म' बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ।  पचासको दशकदेखि नै लोकप्रिय रहेको ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठ बिचमा विदेश पलायन भएका थिए । त्यस बेला यो ब्याण्ड सुस्ताएको थियो । गायक  श्रेष्ठको नेपाल फर्किएसँगै ब्याण्ड जुर्मुराउदै आइरहेको छ । 

गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा 'पहिला घरदेश अनि परदेश' भन्ने नाराका साथ आफ्नो घरेलु मैदानमा सम्पन्न गरिसकेको छ। सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट  रहेको छ।  यसपछि चितवन, सुर्खेत, नेपालगंज, बुटवल, जनकपुर, काठमाडौँ लगायतका प्रमुख शहरहरु संगै नेपालका कुना-कन्दरा  लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको गायक बिबेक श्रेष्ठले बताए।  

 ‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन  ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन् उनी’ भेंडीगोठैमा , प्रियसीको कल्पनामा बिश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरु संगै नयाँ गीत ‘विचरा म ’ पनि धरानमा प्रस्तुत गर्नेछ । कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो। 

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ। कन्सर्टको साउण्ड, लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन पुर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ।