धरान: धरान १६ की ३५ बर्षीय विना राई क्यान्सर पीडित छिन् । अप्रेशन र किमोथेरापी गरेपनि उनी पुर्णरुपमा क्यान्सर मुक्त हुन सकिनन् । अहिले पुनः क्यान्सर फैलिएको रिपोर्ट आएकोले २१ दिनको अन्तरमा किमोथेरापी गर्नुपरिरहेको छ ।

छोरीको क्यान्सर उपचारकै लागि परिवारले घरजग्गा धितो राखेर ३० लाख ऋण लिएको थियो । यो परिवारको धरान १६ सनमार्गमा सवा १२ धुर जग्गामा सामान्य घर छ । बैंकको मासिक किस्ता नै ४० हजार तिर्नुपर्छ । विदेशमा रहेको एक छोरा र परिवारका अन्य सदस्यहरुले मेहनत गरेर जेनतेन बैंकको किस्ता र घर व्यवहार चलाइरहेको आमा कुमारी राईले बताइन् । ‘छोरी बचाउनकै लागि बैंकमा घरजग्गा राख्यौ । उपचारमा धेरै पैसा सकियो, तर यो रोग फैलिहाल्दो रहेछ । मान्छे बाहिर हेर्दा ठिकै छ, तर भित्रभित्रै फैलिइरहेको हुदोरहेछ,’आमा कुमारीले पीडा पोखिन् ।

cancer

विरामी रहेकी विना आफै पनि धरान १० स्थित उद्यमशील सहकारीमा काम गर्छिन् । रोगले थला पर्दा पनि उनले विकल्पमा मान्छे राखेर पनि काम छोडिनन् । उनी उक्त सहकारीमा कलेक्टरको काम गर्छिन् । करिब ४ बर्षअघि उनलाई पायल्स भएको आशंका थियो । मलद्धारबाट रगत बग्ने गरेपछि लामो समय र पैसा खर्च उपचारमा भयो । पछि वीपी प्रतिष्ठानमै शल्यक्रिया भयो भने क्यान्सरको शंका भएपनि भक्तपुर क्यान्सर अस्पतालमा पनि उनको उपचार भयो । 

cancer1

अहिले पुनः क्यान्सर फैलिएको रिपोर्ट आएको छ, र उनले किमो गराउनुपरिरहेको छ । एक पटक किमो गर्दा ५१ हजार जति खर्च हुने गरेको छ । पीडित विनाले बराह सहकारीमा राखेको ५२ हजार रुपैया फिर्ता नपाएको गुनासो गरेकी छिन् । आफ्नो उपचारको लागि उक्त रकम खर्च गर्न फिर्ताको माग लिएर पुग्दा विभिन्न वहानामा अल्मलाएको र उल्टै बराहले दुःख पोखेको बताइन् । 

सचेत धराने समुहबाट आर्थिक सहयोग

क्यान्सरपीडित विना राईलाई सचेत धराने समुहले उपचारको लागि आर्थिक सहयोग गरेको छ । समुहले शनिबार पीडितको घरमै पुगेर ६१ हजार १०५ रुपैया हस्तान्तरण गरेको हो । समुहका सचिव दिप राईले उक्त रकम पीडितलाई हस्तान्तरण गरेका थिए । साथमा समुहका सदस्यहरु मनोज बस्नेत, लक्ष्मी राई, सन्ध्या श्रेष्ठ, किरण मगर पनि पुगेका थिए । 

cancer3

समुहका सचिव राईका अनुसार समुहको आग्रहमा इजराइलबाट सुनिता गुरुङले १० हजार, युकेबाट दिलु पाङ्मा लिम्बुले ५ हजार, हङकङबाट ब्रिन्दा लिम्बुले ५ हजार, हङकङबाटै शिव राना मगर र सुदेश्ना राईले क्रमशः ५ हजार र ३३ सय सहयोग गरेका छन् । बाँकी समुहका सदस्यहरुबाट आर्थिक सहयोग जुटाएर सहयोग गरेको उनले बताए । समुहका सदस्य मनोज बस्नेतले सरकारले आर्थिक अवस्था कमजोर भएकाहरुलाई क्यान्सर जस्तो दीर्घरोगको उपचार निःशुल्क गर्ने व्यवस्थाको लागि ध्यानाकर्षण पनि गराए । 

भिडियो: