धरान: मेयर हर्क साम्पाङले समन्वय नगरि एक्कासी कोकाह खोलाबाट दोस्रो पटक पानी लैजान लागेको भन्दै वडा नं २० का जनप्रतिनिधि र स्थानीयबासीहरुले विरोध जनाएका छन् ।

मेयर साम्पाङ आज (शनिबार) बिहान श्रमदाताहरु लिएर पाइप तान्न कोकाह मुहान पुगेको बेला वडाअध्यक्ष पदम लिम्बुसहितका जनप्रतिनिधि र स्थानीयहरुले विरोध जनाएका हुन् । वडा २० का जनता पनि पिउने पानीको अभाव झेलिरहेको तर नगर सरकारले छलफल नगरि बजार क्षेत्रको लागी मात्र पानी लगेको भन्दै स्थानीयहरुले आक्रोश पोखे । त्यसक्रममा मेयर साम्पाङ र श्रमदातासँग वडाअध्यक्ष, वडा सदस्य र स्थानीयबासीको चर्काचर्की नै परेको थियो । 

स्थानीयबासी विरोध गर्न आउने सुचना पाएपछि जनपद, सशस्त्र प्रहरी र नगर प्रहरी पनि सुरक्षाको लागि कोकाह मुहानमा परिचालन भएको थियो । मेयर साम्पाङ र श्रमदाताहरुले भने माग लिएर कार्यालय जानुपर्नेमा कामलाई अवरोध गर्ने नियतले आएको भन्दै असन्तुष्टी जनाएका थिए । 

kokaha

मेयर साम्पाङले समन्वय र छलफल नगरी एक्कासी दोस्रो पटक पनि पानी लैजान काम शुरु गरेकोले वडाका जनता रिसाएको वडाअध्यक्ष लिम्बुको भनाई थियो । ‘मेयर साबले छलफल राख्नुपथ्र्यो । पहिला पनि लगेकै हो,’उनले भने,‘सहकार्य र सहमति गरौं भन्ने हो, आफ्नै तरिकाले काम अघि बढाएकोले जनतामा आक्रोश छ । स्थानीयसँग छलफलमा बसेर सहमति गरे हुन्छ ।’

वडा सदस्य रामबहादुर राईले पानी लैजान अवरोध गर्ने नभै सरोकारवालाहरुलाई जानकारी नगरेको कारण वडाबासीहरुमा गुनासो र आक्रोश भएको बताए । उनका अनुसार पानीको मुहान क्षेत्र स्वाराको सामुदायिक वन क्षेत्र पर्छ । मेयर साम्पाङले सरोकारवालासँग समन्वय नगरेको कारण स्थानीय असन्तुष्ट रहेको र वडाका जनप्रतिनिधिहरुलाई कसरी अनुमति दिएको भनेर प्रश्न गरेपछि फिल्डमै मेयर साम्पाङसँग छलफल गर्न आफुहरु पनि आएको उनले बताए ।

‘पानी नदिने भन्ने कुरा होइन, गत बर्ष पनि लैजानुभयो । अहिले पनि एक्कासी लैजादा जनताले हामीलाई कसरी लैजादैछ भनेर सोध्छ,’उनले भने,‘मेयरले हामीलाई जानकारी गराउदा हुन्थ्यो । एक्कासी आउने, पाइप गाड्ने काम भयो । यहाँका जनतालाई पनि पानी दिनुपर्छ भन्ने माग हो ।’ उनले राजनैतिकरुपमा आफुहरु अवरोध गर्न नआएको पनि बताए । 

 स्थानीय आइतबार माग लिएर नगरपालिका जाने

kokaha1

कोकाह मुहानमा वडाका जनप्रतिनिधि र स्थानीयबासीसँग विवाद बढ्दै गएपछि तनावपुर्ण अवस्था बनेको थियो । मेयर साम्पाङ र वडाअध्यक्ष लिम्बुबीच पनि चर्काचर्की परेको थियो । मेयर साम्पाङले वडाअध्यक्ष लिम्बुलाई जनता उचालेर विरोध गर्न आएको आरोप समेत लगाए ।

अन्त्यमा मेयर साम्पाङले माग लिएर आइतबार बिहान ११ बजे आफ्नो कार्यालयमा आउन आग्रह गरेका थिए । मेयर साम्पाङको उक्त आग्रह पछि वडाका जनप्रतिनिधि र स्थानीयबासी सहमति जनाएर फर्केका थिए । वडा सदस्य राईले मेयर साम्पाङलाई लिफ्ट गरेर वडाबासीहरुलाई पानी खुवाउनुपर्ने माग लिएर जाने र सम्बोधन भए सहज हुने बताए । 

भिडियो:

भिडियो: