धरान: मेयर हर्क साम्पाङले एडिबिबाट लिएको ऋण तथ अनुदानमा सञ्चालिन खानेपानी प्रोजेक्ट (आइयुडिपी)बारे पठाएको पत्रको कुनै औचित्य नभएको प्रतिक्रिया पुर्वमेयर तिलक राई र पुर्वउपमेयर मञ्जु भण्डारीले दिएका छन् ।

दुवैले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले पठाएको पत्रको कुनै औचित्य नभएको र त्यो सार्वजनिक खपतको लागि मात्र भएको प्रतिक्रिया दिए । उनीहरुले मेयर साम्पाङलाई उक्त पत्रको जवाफ नदिने पनि प्रष्ट पारे । तर सामाजिक सञ्जालमार्फत साम्पाङले पत्र सार्वजनिक गरेकोले चासो राख्ने व्यक्तिहरुको लागि मात्र आफुहरुले धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको उनीहरुको भनाई थियो । 

पुर्वमेयर राईले पुर्वजनप्रतिनिधिहरु ध्यानाकर्षण पत्र बुझाउन गएको बेला स्पष्ट जवाफ नआएपछि मात्र आफुले थप कुरा राख्दा मेयर साम्पाङले पत्र काट्छु भनेको बताए । ‘त्यो पत्र सार्वजनिक खपतको लागि सस्तो लोकप्रियताको चाहनाले मात्र लेखेको हो । त्यसको कुनै औचित्य छैन, त्यो बेकार हो,’पुर्वमेयर राईले भने ।

गत बुधबार पुर्वजनप्रतिनिधिहरु मेयर साम्पाङलाई खानेपानी अभाव, आइयुडिपीमा भएको भ्रष्टचारको छानबिनलगायतको बिषयमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका थिए । त्यसबेला पुर्वमेयर राईले मेयर साम्पाङ अभियन्ता हुँदा आइयुडिपीमा भ्रष्टचार भएको भनेर आन्दोलन गरेको स्मरण गराउदै २ बर्षमा भ्रष्टचार भएको छ कि छैन भनेर पत्ता लाग्यो कि लागेन भनि प्रश्न गरेका थिए । त्यसक्रममा मेयर साम्पाङले रिसाउदै जवाफ दिने क्रममा आइयुडिपीबारे पत्र काट्ने बताएका थिए । उनले भोलीपल्ट नै विभिन्न ९ बुँदाको प्रश्न उल्लेख गरेर पुर्वमेयर राई र पुर्वउपमेयर भण्डारीलाई पत्र पठाएका थिए ।

Tilak manju1

पुर्वमेयर राईले आइयुडिपी सम्बन्धी सम्पुर्ण डकुमेन्ट उपमहानगरपालिका र खानेपानी बोर्डमा नै रहेकोले मेयर साम्पाङले आफ्नो पत्रको जवाफ त्यही खोज्नुपर्ने बताए । बोर्डको अध्यक्ष पनि मेयर साम्पाङ नै हुन् । ‘हाम्रो कार्यकाल सकिएपछि डकुमेन्ट घर लिएर जाने कुरा भएन, कार्यालयमा नै छ । वर्तमान मेयरले नभेटेर हो कि हामीलाई सोधेको ?’ पुर्वमेयर राईले भने,‘वर्तमान मेयरकै समुहले खानेपानी संस्थानलाई मर्ज गर्न नदिएर आयोजना कार्यान्वयनमा ढिलाई भयो । काम गर्न नदिएर संस्थानको पुरानो संरचना मर्मत हुन पाएन, र असफल भएको हो ।’

पुर्वउपमेर भण्डारीले पनि आफुहरुले जनतालाई वास्तविकता बताउने तर अरु कसैलाई जवाफ दिइरहन आवश्यक नभएको बताइन् । आइयुडिपीको डिटेल फाइल सहरी विकास मन्त्रालय, नगर विकास कोष, एडिबीको केन्द्रीय कार्यालय, खानेपानी बोर्ड र नगरपालिकामा पनि भएकोले मेयर साम्पाङले त्यही आफ्नो प्रश्नको जवाफ पाउने भण्डारीले बताइन् । ‘अख्तियारबाट पनि छानबिन भइसकेको हो, प्राविधिकहरु आएर टेक्निकल अडिट पनि गरिसकेको छ । जेजति लिनुपर्ने जवाफ पहिल्यै दिइसकेको छ,’भण्डारीले भनिन् ।

भिडियो: