धरान: लुमन्ति आवासको लागि सहयोग समुहद्धारा धरानमा सहरी सुशासनको लागि युवा र नागरिक मिडियाको उपदेयता परियोजना शुभारम्भ गरेको छ ।

लुमन्तिले आइतबार धरान १० स्थित होटल पुर्वीस्टारमा एक कार्यक्रम आयोजना गर्दै परियोजना शुरुवातको घोषणा गरेको हो । यो परियोजना युवा केन्द्रीत रहेको लुमन्ति काठमाण्डौंका अनन्त राज बज्राचार्यले जानकारी दिए । परियोजनाले टोल विकास संस्था (टिएलओ)हरुलाई योजना तथा बजेट निर्माण प्रक्रियाबारे सहजीकरण गर्नेछ भने युवाहरुलाई क्षमता अभिवृति गर्न तालिम पनि दिने उनले बताए । नगरको नीति तथा कार्यक्रमको अध्ययन गराएर नीति निर्माणमा सरकरात्मक परिवर्तन गर्ने उद्देश्य पनि परियोजनाको रहेको उनले बताए । 

यस्तै, युवाहरुलाई डिजिटल मिडियामार्फत पैरवी कसरी गर्ने भनेर सशक्तिकरण गराउन तालिम पनि दिने परियोजनाको उद्देश्य रहेको लुमन्तिले जनाएको छ । यो परियोजना २ बर्षको रहेको छ भने यसको कुल बजेट ९५ लाख रुपैया रहेको पनि उनले जानकारी दिए । 

लुमन्तिले विगतमा पनि धरानमा १२ बर्ष परियोजना सञ्चालन गरेको थियो । उक्त परियोजना आवास, समुदाय सशक्तिकरण, खानेपानी, समुदायमा आधारित लघुबित्त कार्यक्रमलगायतमा केन्द्रीत थियो । नयाँ परियोजना भने विगतको भन्दा फरक रहेको लुमन्तिले जनाएको छ । विगतमा सन् २००५ देखि १०१७ सम्म पनि धरानमा लुमन्तिले समुदायमा परियोजना सञ्चालन गरेको थियो ।

lumanti2

कार्यक्रममा परियोजनाको साझेदार संस्थाकोरुपमा रहेको काठमाण्डौं विश्वविद्यालयका प्रवेश खनालले विश्वविद्यालयको भुमिकाबारे प्रष्ट पारेका थिए । धरान उपमहानगरपालिकाकी सामाजिक विकास शाखाकी अधिकृत भुवन राईले पर्याप्त बजेट नहुँदा विकासका साझेदार संघसंस्थासँग हातेमालो गर्नुपर्ने बताइन् ।

उनले परियोजनाले समेटेको टिएलओहरुलाई योजना छनौट, बजेट तुर्जमा प्रक्रियाबारे जिम्मेवार बनाउने अपेक्षा पनि राखिन् । साथै उनले भौतिक पुर्वाधार विकासलाई मात्र विकास ठान्ने सोचलाई परिवर्तन गरेर मानवीय विकासतर्फ पनि यो परियोजनाले समुदायलाई प्रेरित गर्ने अपेक्षा गरिन् । साना र ठुला समस्याहरुको परिचान गरेर वडा, नगर र विकासका साझेदार संस्थाहरुबीच सहकार्य गर्ने वातावरण बन्ने पनि उनले बताइन् । 

शुभारम्भ कार्यक्रमलाई वडा १५ का कार्यवाहक अध्यक्ष वादल भट्टराई, नेपाल बसोबास वस्ती संरक्षण समाजका अध्यक्ष आइत लिम्बु, महिला एकता समाजकी सीता मगरलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । लुमन्ति धरानका फिल्ड कोआर्डिनेटर जितबहादुर श्रेष्ठले कार्यक्रमका सहभागी अतिथिहरुलाई धन्यवाद दिएका थिए ।