धरान: धरान उपमहानगरपालिका वडा नं १३ स्थित भारतीय भूपू सैनिक भवनको पुर्वतर्फको खहरेमा ग्याबिङ जाली लगाएको बिषयमा विवादले उग्ररुप लिदा स्थानीयबीच कुटाकुट भएको छ ।

खहरे किनारमा बसोबास गर्ने स्थानीयबीचमा बुधबार दिउँसो कुटाकुट भएको हो । केही स्थानीय महिला र पुरुषबीचमा ढुंगामुढा र कुटाकुट भएपनि कोही गम्भीर घाइते भने भएनन् । मेयर साम्पाङलाई गलत उजुरी गरेर ग्याबिङ जाली भत्काउन लगाएको भन्दै स्थानीय महिला र युवाहरुबीच विवाद भएको थियो । 

कुटाकुट हुनुअघि मेयर हर्क साम्पाङ सोही खहरेमा स्थलगत अध्ययन गरेर भूपू सैनिक भवनतर्फ फर्किसकेका थिए । वडा सदस्य सुन्दरी श्रेष्ठसहित नगर प्रहरीसमेत छलफल गरेर फर्किसकेको अवस्थामा खोलामा नै रहेका स्थानीयबीच भनाभन हुदै विवाद चर्किएर ढुंगामुढा र कुटाकुट भएको हो । उक्त घटना हुँदा मेयर साम्पाङ, वडाका जनप्रतिनिधि र नगर प्रहरी फर्किसकेको कारण वेखबर थिए ।

wada 13 dojar2

त्यसअघि बिहान मेयर साम्पाङले खोला मिचेर ग्याबिङ जाली लगाएको भन्दै डोजर लगेर भत्काइदिन नगर प्रहरी प्रमुख विष्णु कोइरालालाई निर्देशन दिएका थिए । मेयरको निर्देशन पश्चात प्रहरी प्रमुख कोइराला डोजर लिएर वडा १३ पुगेका थिए । तर वडाअध्यक्ष नेत्र काफ्लेले वडा कार्यालयसँग समन्वय नगरि र जानकारी पनि नदिई एक्कासी मेयर साम्पाङले ग्याबिङ जाली भत्काउन डोजर पठाएको भन्दै अवरोध गरेका थिए । वडाअध्यक्ष काफ्ले र स्थानीय युवाले डोजर खहरेमा प्रवेश गर्न नदिए पछि फर्केको थियो । 

wada 13 dojar

वडाअध्यक्ष काफ्ले र स्थानीय युवाले डोजर खहरेमा पस्न नदिएपछि दिउँसो मेयर साम्पाङ आफै स्थलगत अध्ययन गर्न पुगेका थिए । स्थानीय युवाहरुले ग्याबिङ जाली नेपाल प्रहरीका एसपी भीम दाहालको जग्गामा लगाएको दाबी गरेपछि सम्बन्धित जग्गाधनी (एसपी दाहाल)सँग पनि जानकारी लिने भन्दै मेयर साम्पाङ फर्किएका थिए । नगरलाई थाहै नदिई काम गरेकोले समस्या भएको मेयर साम्पाङले बताए । 

उनले खोलाको बीचमा बार लगाएको देखिएको र त्यसलाई करेक्सन गर्नुपर्ने बताए । ‘खोलामा बार लगाएको देखिन्छ, त्यसलाई सच्याउनुपर्ने देखिन्छ । नम्बरी जग्गा कस्को पर्यो भन्ने पनि छ,’ मेयर साम्पाङले भने, ‘गुनासो आएको थियो । कस्को अनुमतिले, कस्ले पैसा दिएर त्यो काम गरेको हो, वडालाई पनि पत्र पठाउछौं । त्यो योजनाबारे नगरलाई पनि थाह छैन ।’ मेयर साम्पाङले खोलाको बीचमा ग्याबिङ जाली लगाउनु गलत भएकोले त्यसलाई सच्याउनुपर्ने प्रतिक्रिया दिए । 

wada 13 dojar1

वडाअध्यक्ष काफ्ले भने कसैको भनाईमा लागेर यथार्थ नबुझी मेयरले डोजर पठाएको भन्दै कुनै पनि हालतमा खोलामा पस्न नदिने बताए । उनका अनुसार खहरेको पुर्वतर्फ नेपाल प्रहरीको एसएसपीमा सिफारिश भएका एसपी दाहालको जग्गा (डाँडा) छ । नक्सामा खहरे नै नभएको र एसपी दाहालको जग्गामा नै खहरे खोला कुदेको वडाअध्यक्ष काफ्ले र स्थानीयको दाबी छ । खहरको कटान र पहिरोले दाहालको जग्गा भएको डाँडा नै खस्न थालेपछि प्रदेश सरकारको बजेटले उक्त ग्याबिङ लगाइएको अध्यक्ष काफ्लेले बताए । 

उनका अनुसार खोला मिचेको नभै खोला नै दाहालको जग्गामा भएकोले व्यक्तिले आफ्नो जग्गा संरक्षणको लागि ग्याबिङ जाली लगाएको हो । ‘एकदुई जनाको कुरा सुनेर वडासँग समन्वय नगरि सिधै डोजर पठाउन मिल्छ ? कुनै हालतमा डोजर पस्न दिदैनौं’ वडाअध्यक्ष काफ्लेले भने ।

भिडियो:

भिडियो: