धरान: किरात राई जातिको चाड साकेला उभौलीको शनिबार धरानमा भव्यरुपमा समापन गरिएको छ ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गर्दै उभौलीको समापन गरेको हो । सुनसरी जिल्ला भरिका यायोक्खाका विभिन्न नगर कार्यसमिति, वडा कार्यसमितिबाट साँस्कृतिक भेषभुषा, साँस्कृतिक सामग्रीसहित सहभागिता जनाएको थियो ।
बर्षेनी साकेला उभौलीको समापन धरानमा प्रतियोगितात्मक साकेला सिली प्रर्दशनी गरेर हुने गरेको छ । प्रर्दशनीमा हजारौं किरातीहरु र गैरकिरातीहरुको पनि अवलोकनमा आउने गरेका छन् ।
फुटबलर प्रिति राई र कबड्डी प्रशिक्षक सम्मानित (भिडियो)
धरानका मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा चर्चित फुटबलर प्रिति राईलाई नगद १ लाख ५०८४ नगद राशीसहित सम्मान गरिएको थियो । यस्तै, कबड्डीकी राष्ट्रिय प्रशिक्षक पार्वती राईलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । दुवैलाई प्रमुख अतिथि साम्पाङ, निवर्तमान मेयर एवं यायोक्खाका पुर्वकेन्द्रीय अध्यक्ष तिलक राई, यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक राईलगायतले सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेका थिए ।
यसैगरि, महेन्द्र क्याम्पसका प्रमुख चन्द्रकुमार राई, गोर्खा सैनिक सेवामा एमबिई उपाधि प्राप्त सुवास राई पनि सम्मानित भएका छन् । आर्किटेक्चरमा पहिलो मास्टर डिग्रि गरेर हाल धरान तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसमा प्राध्यापनरत पारसमणी राईलाई पनि सम्मान गरिएको थियो । उनले चिण्डेडाँडामा निर्माण गर्ने घोषणा गरिएको सुम्निमा पारुहाङ प्रतिमाको निःशुल्क थ्री डी र डिपिआर बनाउन प्राविधिक टिमको नेतृत्व गरिरहेका छन् ।
सिलि तर्फ इटहरी १/१९/२० प्रथम, भेषभुषमा धरान १३ प्रथम
प्रतियोगितात्मक सिली प्रर्दशनीमा किरात राई यायोक्खा इटहरी उपमहानगर वडा १/१९/२० कार्यसमिति प्रथम भएको छ । यस्तै, धरान वडा नं १९ कार्यसमिति दोस्रो र धरान वडा नं १५ कार्यसमिति तेस्रो भएको छ । भेषभुषातर्फ भने धरान वडा नं १३ कार्यसमिति प्रथम भएको छ ।
यसैगरि, साँस्कृतिक सामग्री (धरान बाहिर)तर्फ इटहरी उपमहानगर वडा ५ कार्यसमिति प्रथम भएको छ भने इटहरी ६ दोस्रो र इटहरी २ तेस्रो भएको छ । साँस्कृतिक सामग्री धरान भित्र भने वडा १५ कार्यसमिति प्रथम भएको छ भने वडा नं ८ दोस्रो र वडा ९/१० तेस्रो भएको छ ।
भिडियो:
सहभागिता (धरानबाहिर) तर्फ इटहरी वडा १/१९/२० प्रथम भएको छ भने पकली रामधानी दोस्रो र इटहरी २ तेस्रो भएको छ । सहभागिता (धरानभित्र) भने धरान १५ प्रथम, धरान ८ दोस्रो र धरान ५/६ तेस्रो भएको छ । यस्तै, सर्वोत्कृष्ट ढोले पुरुषमा इटहरी २ का रामबहादुर राईले पुरस्कार पाएका छन् भने महिलातर्फ सोनापुरकी अनुकला राईले पुरस्कार पाइन् ।