धरान: छोरीहरु मात्र पढ्ने कोशी प्रदेशको एक मात्र सामुदायिक विद्यालय हो, धरान १६ स्थित शारदा बालिका नमुना मावि । 

यो विद्यालय स्थापनाको ७५ बर्ष पुरा भइसकेको छ । सोही अवसरमा विद्यालयले मंगलबारदेखि तीन दिने हीरक महोत्सव मनाउदैछ । हीरक महोत्सव उद्घाटनको अवसरमा पहिलो दिन विद्यालयले प्रभातरफेरी गरेको थियो भने मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । मेयर साम्पाङले हीरक स्तम्भको अनावरण समेत गरेका थिए भने वृक्षारोपण पनि गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठले शारदा बालिका छोरीहरु मात्र पढाई हुने कोशी प्रदेशकै एक मात्र विद्यालय भएकोले धरान र धरानबासीको गौरवको बिषय भएको बताइन् । साथै उनले विद्यालयलाई बिशेष विद्यालयकोरुपमा घोषणा गरेर सोही अनुसार सेवा सुविधा उपलब्ध गराउन पनि माग गरिन् । 

‘हाम्रो विद्यालय छोरीहरु मात्र पढ्ने कोशी प्रदेशकै एक मात्र विद्यालय हो । यो धरानको सान हो, र धरानबासीको गौरवको बिषय पनि हो,’ स्थानीय सरकारलाई आग्रह गर्दै उनले भनिन्,‘त्यसैले यो विद्यालयलाई बिशेष विद्यालयकोरुपमा घोषणा गरि सोही अनुसारको सेवा सुविधा उपलब्ध गराइदिएर यहाँका भुमिहिन किसान, दैनिक ज्यालामजदुरी गर्ने अभिभावकका छोराछोरीको सुन्दर भविष्य निर्माणमा सहयोग गरिदिन आग्रह छ ।’

balika3

विभिन्न दाताहरुबाट भौतिक पुर्वाधार निर्माण गरेको जानकारी दिदै छात्रवृत्ति कोष पनि वृद्धि गरेर ४८ लाख २ हजार ५९३ बनाएको बताइन् । खेलकुदको विकासको लागि फुटबल र भलिवलको प्रशिक्षण शुरु गरेको र निकट भविष्यमा बास्केटवल, कबड्डी र टेवलटेनिस प्रशिक्षण पनि शुरु गर्ने उनले बताइन् । खेल प्रशिक्षकहरुले निःशुल्क सेवा गरिरहेको भन्दै अध्यक्ष श्रेष्ठले धन्यवाद पनि दिइन् । यस्तै, गायन र नृत्य कक्षा र कला, साहित्यको कक्षा पनि सञ्चालनमा रहेको उनले खुलाइन् । 

महोत्सव सकिनासाथ घरदैलोमा पुगेर अभिभावकलाई पनि शिक्षा दिलाउने र प्रत्येक बिषयको औसत प्राप्तांक कम्तीमा ५० प्रतिशतसम्म पुर्याउने लक्ष्यका साथ काम गर्ने अध्यक्ष श्रेष्ठले योजना बताइन् ।

balika4

यसैगरि, शिक्षक तथा कर्मचारीलाई उत्कृष्ट विद्यालयको भ्रमण गराएर विद्यालयमा लागु गराउने, देशका सर्वोत्कृष्ट परीक्षाफल प्राप्त गरेका शिक्षक तथा कर्मचारीसँग भच्र्युअल माध्यमबाट अन्तक्रिया गराउने र साप्ताहिक अतिरिक्त क्रियाकलापलाई ज्ञानवद्र्धक र मनोरञ्जनात्मक बनाएर विद्यार्थीलाई विद्यालय आउ आउ लाग्ने वातावरण बनाउने उनले योजना सुनाइन् । पुर्वविद्यार्थी तथा अभिावकहरुलाई विद्यालयप्रति जिम्मेवार बनाउने पनि उनले बताइन् ।

यस्तै स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई विद्यालय नर्सको व्यवस्था गर्न, कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी, कक्षा ६ देखि १२ सम्म स्मार्ट बोर्डको व्यवस्थापन गर्न र विद्यालयमा बसको व्यवस्थापन गर्न अनुरोध गर्ने अध्यक्ष श्रेष्ठको भनाई थियो । हीरक महोत्सवमा आज खेलकुद र छात्रवृत्ति हुने विद्यालयले जनाएको छ भने भोली बिहिबार दाता, शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

शिक्षामा लगानी बढाउछौं: मेयर साम्पाङ

balika1

मेयर साम्पाङले तीनै तहको सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । हीरक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सबै क्षेत्र निजीकरण गर्नुपर्छ भन्ने सोच भएर लगानी वृद्धि नभएको हो कि ? भन्ने प्रश्न पनि गरे । 

'तीन तहको सरकारले जति बजेटले सम्बोधन गरेर हेर्नुपर्ने हो, सकेको छैन । किन सकेको छैनौं भनेर बहस विश्लेषण गर्नुपर्ने छ,' उनले भने, 'सबै निजीकरण गर्नुपर्छ भन्ने सोच भएर हो कि शिक्षा क्षेत्रमा ठुलो पैसा छुट्टिएको छैनौ, यो आफैमा गलत छ । यो ट्रेण्डलाई परितर्वन गर्न निक्कै समय लाग्नेछ ।' 

balika5

उनले लगानी नबढाएको कारण सामुदायिक विद्यालयको भवन नाजुक अवस्थामा रहेको बताए । कतै पानी नभएको, शौचालय अभाव, भवन बनेपनि डेस्क, बेन्च नभएको उनले बताए । 'केन्द्र सरकारको मन्त्रालय, नीति निर्माता सबैले यो बिषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको छ,' उनले भने, 'आगामी बर्षमा बजेट बढाउने सोचेको छौं । शिक्षा क्षेत्रमा लागनी बढाउनुपर्छ, बर्षेनी बढाउदै लानेछौं । बाटो, ड्रेन नबनाउदा पनि हुन्छ, तर शिक्षामा लगानी हुनुपर्छ ।' 

भिडियो: