धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा एसि नचलेर विरामी आफैले पंखा ल्याउनुपरेको सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरु स्थलगत निरीक्षणमा पुगेका छन् । 

रास्वपा नेता सरिन तामाङ, अरमान अली, ठाकुर कार्कीलगायतले आइसियु कक्षमा पुगेर विरामीका कुरुवाहरुसँग यथार्थ बुझेका थिए । साथै, उनीहरुले आइसियुका कार्यरत प्रतिष्ठानका कर्मचारीहरुसँग पनि एसि चले, नचलेको बिषयमा जानकारी लिएका थिए । त्यसक्रममा अप्रेशन पछि आइसियुमा आफ्नो बुबालाई राखेका अनोज श्रेष्ठले एसि नचलेर असाध्यै गर्मी भएपछि आफुले पंखा लैजान बाध्य भएको बताएका थिए । अतिसंवेदनशील उपचार कक्षमा झण्डै ४५ मिनेटसम्म पनि विजुली जाने गरेको भन्दै धेरे नै लापरवाही भएको श्रेठले बताए । 

यस्तै, विरामीका अन्य कुरुवाहरुले पनि आइसियुभित्र एसि नचलेको र कुरुवा बस्ने ठाउँको पनि केही पंखा नचलेर अत्यधिक गर्मीमा बस्न बाध्य भएको बताएका थिए । आइसियुका कर्मचारीले भने आइसोलेसनको एसि बिग्रिएको तर अस्पताल प्रशासनले बनाएकोले हाल सञ्चालनमा आइसकेको दाबी गरेका थिए । रास्वता नेता तामाङले आइसियु जस्तो अतिसंवेदनशील उपचार कक्षमा एसि बिग्रिनु ज्यादै लापरवाही भएको भन्दै सम्बन्धिन निकाय र पदाधिकारीहरुको ध्यानकर्षण गर्न आएको बताए । 

यद्यपी, उपकुलपति र अस्पताल निर्देशक काठमाण्डौं भएकोले भेटेर ध्यानकर्षण गर्न नपाएको उनले बताए । रेक्टर प्रा.डा.सञ्जिव शर्मालाई भने फोनमार्फत ध्यानाकर्षण गराएको र प्रक्रियाको कारण ढिलाई हुने गरेको जवाफ दिएको पनि उनले बताए ।

भिडियो: