धरान: अस्पतालसम्म पहुँच नभएका सर्वसाधारण विरामीहरुलाई लक्षित गरेर विगत २२ दिनदेखि धरान ८ नम्बर वडा कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । 

वडा कार्यालय र केएचडिसी नेपालले सहकार्यमा आयोजित शिविर भोली (बिहिबार) सम्म हुने वडा अध्यक्ष धनबहादुर राईले जानकारी दिएका छन् । हालसम्म शिविरबाट ३ हजार भन्दा बढी वडाबासीहरुले सेवा पाइसकेको पनि उनले बताएका छन् । ‘यतिका धेरै जनतालाई वडामा नै स्वास्थ्य सेवा दिन पाएकोमा हामी धेरै खुशी छौं,’ अध्यक्ष राईले भने,‘केएचडिसीका डाक्टरहरुले पनि धेरै राम्रो परामर्श सेवा दिइरहनु भएको छ, उहाँहरुलाई धन्यवाद दिन चाहन्छुँ ।’

health camp

शिविरमा रगत र पिसाब जाँचको लागि नमुना संकलन गरिएको छ भने प्रेसर, सुगरको पनि जाँच गरिएको छ । डाक्टरहरुले आवश्यकता अनुसार जाँच गर्न आएकाहरुलाई परामर्श पनि दिने गरेका छन् । शिविरमा ६ दिनसम्म रगत र पिसाबको नमुना संलकन गर्ने र शनिबार रिपोर्टसहित वरिष्ठा चिकित्सक एवं वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मा आफैले पनि विरामीलाई परामर्श दिने गरेका छन् । 

केएचडिसिका स्वास्थ्य शिविर संयोजक आशिष तामाङका अनुसार यसअघि धरानको वडा नं १६, १५, १९, घण्टाघरलगायत विभिन्न क्षेत्रमा पनि शिविर आयोजना भइसकेको छ । मृगौला, मधुमेह, मुटु सम्बन्धी, प्रेसर जस्ता दीर्घ रोग लागेर उपचार गर्न धाइरहनुभन्दा रोग लाग्नै नदिन स्वास्थ्य सम्बन्धी जनचेतना पनि फैलाउने उद्देश्यले केएचडिसीले समुदायस्तरमा शिविरहरु सञ्चालन गर्दे आइरहेको छ ।

भिडियो: