धरान: सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आफ्नो निधन भएको भन्दै श्रद्धाञ्जली पोष्ट गर्दै अफवाह फैलाएपछि धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले आफु ज्युँदै भएको भन्दै पत्रकार सम्मेलन गरेका छन् । 

उपमेयर बेघाले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै भने, ‘म ज्यँुदै छुँ, ज्युँदै भएको प्रमाण दिन पत्रकार सम्मेलन गरेको हुँ ।’ उपमेयर बेघाले कानुनी कारबाहीको लागि प्रहरीमा उजुरी दिएको र जिल्ला प्रशासन कार्यालय, गृहमन्त्राललाई पनि निवेदन दिएको जानकारी दिएका छन् । 

‘धरानको विडम्बना भन्नुपर्छ, मानवीय संवेदनालाई कुन उचाईमा राखेर धारन अगाडि बढ्दैछ भन्ने प्रश्न पनि उठेको छ,’ उनले भने, ‘हिजो दिनभरि म मरेको हवाला दिदै हल्लाखल्ला भए, मृत्युको घोषणा गरे । दिनभरि फोन आए । मलाई धेरे मर्माहत र दुःखी बनाएको छ ।’

कार्यपालिका बैठकको भिडियोलाई तोडमोड गरि सामाजिक सञ्जाल किमजोम नामको टिकटक आइडिबाट उपमेयर बेघा इटहरी जाने क्रममा ट्रकको ठक्कर परी घटनास्थलमै मृत्यु भएको भन्ने पोष्ट भाइरल बनाएको थियो । साथै, टिकटक लाइभमा पनि विभिन्न आइडीबाट श्रद्धाञ्जली दिएर गालीबेइज्जती गरेका थिए ।

उपमेयर बेघाले गृहमन्त्रालय र नेपाल प्रहरीले पनि गम्भीरढंगले अनुसन्धान गरेर कानुनी कारबाही गर्न पनि माग गरे । ज्युँदो मान्छेलाई मरेको भनेर कुप्रचार गर्नेलाई साइबर क्राइमको मात्र कारबाहीले नपुग्ने उनले बताए । राज्यले कडा भन्दा कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए । ‘हिजो यति धेरै फोन आयो कि म ज्युँदै छु भन्दा भन्दा हैरान भए,’ उनले भने,‘त्यही भएर आज पत्रकार सम्मेलन गरेको हुँ, म सक्कलै हो । म सातो होइन, मान्छे नै हो ।’

भिडियो: