धरान: आइतबारको कार्यपालिका बैठकले सोमबार दिउँसो ३ बजे धरान १० स्थित सैनिक भवनमा नगरसभा गर्ने निर्णय गरेको थियो । त्यसअघि दिउँसो १२ बजे पुनः कार्यपालिका बैठक गर्ने र नीति तथा कार्यक्रममाथि छलफल तथा राय, सुझावसहित संशोधन गर्ने निर्णय भयो ।

उक्त बैठकमा बजेटको अंकबारे प्रस्ताव थिएन । सोमबारको कार्यपालिका बैठकमा नीति तथा कार्यक्रमको प्रस्तावमाथि वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सुझावहरु पेश गरे, ती सुझावहरुलाई पनि समेटेर नगरसभामा पेश गर्ने गरि टिपोट गरिएको थियो । त्यसक्रममा उपमेयर अइन्द्रबिक्रम बेघासहित केही वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरसभामा बजेट पनि ल्याउनुपर्ने भन्दै आवाज उठाएका थिए । 

उपमेयर बेघाले बजेट अंकविनाको नगरसभा यसपाली अनौठो र अचम्मको हुन लागेको बताएका थिए । ‘राजश्व परामर्श समितिले नगरप्रमुखलाई प्रतिवेदन बुझाएपछि बजेट सिमा निर्धारण समितिको संयोजक नगरप्रमुख हुनुहुन्छ, उहाँले बजेटको सिमा निर्धारण गरेर बजटे तर्जुमा समितिलाई दिनुपर्ने हो, अहिलेसम्म आएको छैन, र ब्रेकडाउन भएको छैन, र बजेट बनेको छैन,’ उनले भने ।

वडा नं ७ का अध्यक्ष जीवन सुवेदीले मेयरलाई बजेट ल्याउन कस्ले अवरोध गरेको हो ? भनेर प्रश्नसमेत गरेका थिए । ‘नगरसभामा हामीले यति आम्दानी गर्नेछौ, यति खर्च गर्नेछौं भनेर उपमेयरले पढ्नुपर्ने हो । त्यो बनाउनको लागि नगरप्रमुखलाई कस्ले असहयोग गर्यो ?’ उनले भनेका थिए,‘कुनै पार्टीले गर्यो कि वडाअध्यक्षहरुले यो काम नगर्नु भनेर अवरोध भयो कि ? कस्ले अवरोध गर्यो कारबाही गर्नुपर्छ । वडामा बजेटको सिलिङ कति जादैछ ? हामीले र नगरबासीले थाह पाउनुपदैन ?’

nagarsava

जवाफमा मेयर हर्क साम्पाङले बजेटको सिमा निर्धारण अहिलेसम्म किन र कस्को कारणले नभएको भन्दै प्रश्न गरेका थिए । उनले आफुले बैठक बोलाएको तर कोही नआएपछि बजेट बन्न नसकेको बताए । ‘निती तथा कार्यक्रम लगेर नगरसभा उद्घाटन गछौं, र आज अंक आउदैन । सिमा निर्धारण समितिले बैठक नै समापन गरेको छैन, महत्वपुर्ण १५ वडाको अध्यक्ष बाहिर जानुभएको छ,’ उनले भने,‘राजश्व परामर्श समितिको प्रतिवेदन सल्लाह हो । त्योमाथि घनीभुत छलफल भएको छैन ।’

लगत्तै उपमेयर बेघाले नीति तथा कार्यक्रम र बजेटको सन्दर्भमा माइन्युटमा के लेख्ने भनेर बताए । मेयर साम्पाङ र कार्यपालिका तथा वडाअध्यक्षहरु त्यसमा सहमत भएका थिए । ‘कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम छलफलमै छ, निष्कर्षमा पुग्न अझै बाँकी छ, यो नगरसभामा पेश गर्ने कुरामा पेश गर्ने, छलफलमा रहेको पेश गर्न पाइयो,’ बेघाले भनेका थिए,‘अर्को कुरा बजेट निर्माणको सवालमा सिमा निर्धारण समितिले सिमा तयार गरी बजेट तर्जुमा समितिमार्फत वडा र बिषयगत समितिमा छलफल भई आएको कुरा नगर कार्यपालिकाबाट अनुमोदन गर्दै नगरसभामा पेश गरिनेछ भन्ने लेखेपछि मात्र हुन्छ, नभए परिणाम निकाल्दैन ।’ मेयर साम्पाङले जे लेख्नुपर्ने लेखौं, एकले अर्कालाई आक्षेप लगाउने काम नगरौं भनेका थिए । 

यसरी नीति तथा कार्यक्रम र बजेटबारे कार्यपालिका बैठकमा सहमति भएपनि सोमबार दिउँसो ३ को तोकिएको नगरसभा शुरु भएन । मेयर साम्पाङ ढिला गरि नगरसभास्थलमा आएका थिए । कार्यपालिका बैठकको माइन्युट के लेखियो भन्ने बिषयमा नगरसभा हलबाहिरै उपमेयर बेघा, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङलाई सोधेका थिए । त्यहाँ कुरा नमिलेपछि वडाअध्यक्ष तथा नगरसभा सदस्यहरु नगरसभा नहुने भन्दै हिडेका थिए । 

nagarsava1

यद्यपी वडाअध्यक्षहरुले नगरसभा आफुहरुले बहिष्कार नगरेको जिकिर गरे । प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले बजेट बनाउने प्रक्रिया सिलिङ समिति, बिषयगत समिति, वडा र बजेट तर्जुमा समितिमार्फत कार्यपालिमामा आएर नगरसभामा ल्याउने भन्ने सहमति निर्णयमा नलेखिएपछि कुरा नमिलेको बताए । माइन्युटमा प्रक्रिया अनुसार लेख्ने भन्ने मात्र आएको र आफुहरुले मुर्तरुपमा नै बैठकमा भएको सहमति अनुसार लेख्नुपर्छ भन्दा मेयर साम्पाङ नमानेकोले नगरसभा हुन नसकेको बताए । ‘हामी त नगरसभाको लागि आएकै हो । सहमतिमा उद्घाटन गरौं भनेर आएकै हो । मेयर साब आएपछि अगि भएको निर्णय किन लेखिएन सुधारौं भन्यौं, उहाँले सक्दिन भनेपछि कुरा मिलेन ।’ विधि र प्रक्रिया पुर्याएर नगरसभा बस्ने उनले बताए ।

नगरसभा नभएपछि साँझ मिडियासँग कुरा गर्दै मेयर साम्पाङले नियोजितरुपमा नै नगरसभा बहिष्कार गरेको बताए । नगरसभाको लागि अतिथिमा बोलाइएका प्रदेश सांसदहरु पनि नआएको कारण नगरसभा शुरु हुन नदिने पुर्वयोजना भएको मेयर साम्पाङको भनाई थियो । उनले कार्यपालिका बैठकमा भएको सहमति अनुसार नै निर्णय सच्याएर माइन्युट लेख्दा पनि नगरसभा बहिष्कार गरेको बताए ।

‘पहिलो माइन्युट नियमअनुसार प्रक्रिया पुर्याएर छलफलबाट आएको बजेट नगरकार्यपालिकाबाट अनुमोदन गरि नगरसभामा पेश गर्ने निर्णय गरियो भनेर लेखियो । त्यसमा मान्नु भएन,’मेयर साम्पाङले भने,‘फेरि सच्याएर सिमा निर्धारण समितिले सिमा तयार गरी वडा र बिषयगत समितिसँग छलफल गरी आएको बजेट नगर कार्यपालिकाबाट अनुमोदन गरी नगरसभामा पेश गर्ने भनेर लेख्यौं । त्यसमा मेरो र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर छ, तर पनि उहाँहरुले नगरसभा बहिष्कार गर्नुभयो । उहाँहरु बहिष्कार गर्ने भनेरै नियोजितरुपमा आउनुभएको रहेछ ।’ उनले पुनः आफुले बैठक आह्वान गर्ने र बजेट आउने बताए । नगरसभा बहिष्कार भइरहे भानुचोकमा जनतालाई आह्वान गरेर बजेट पास गर्ने र कार्यान्वयन गर्ने उनले बताए । 

भिडियो:

भिडियो:

भिडियो: