धरान: खोलातर्फ मिचेर ग्याबिङ जाली लगाएको भन्दै मेयर हर्क साम्पाङको निर्देशनमा धरानको वडा नं १३ को अमर बस्ती (क)को खहरेमा लगाएको ग्याबिङ जाली भत्काइएको छ ।

मेयर साम्पाङको निर्देशनमा नगर प्रहरी र ग्याबिङ जालीको विरोध गरिरहेका केही स्थानीयले मंगलबार साँझ जाली भत्काइएको हो । यो घटनाले मेयर साम्पाङ र वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेबीचको द्धन्द झन् चर्किएको छ । प्रदेश सरकारको बजेटबाट निर्माण भएको करिब ८२ मिटर लामो जाली मध्ये ३० मिटर हाराहारीमा तार काटेर भत्काइएको छ । 

जाली लगाइएको विपरीत तर्फका बासिन्दाले खोला मिचेको भन्दै गुनासो गरेपछि मेयर साम्पाङले केही समयअघि डोजर लगेर भत्काइदिन नगर प्रहरीलाई आदेश दिएका थिए । वडा अध्यक्ष काफ्लेले विरोध जनाउदै डोजरलाई खहरेमा प्रवेश गर्न अवरोध पुर्याएपछि मेयर साम्पाङ र काफ्लेबीचको सम्बन्ध तिक्ततापुर्ण भएको छ।

मेयर साम्पाङले प्रदेशको बजेट दुरुपयोग गर्दै खोला मिचेर जाली लगाइएको, नगर र वडाको प्राविधिकलाईसमेत जानकारी नदिएको भन्दै भत्काउनुपर्ने अडानमा थिए । वडाअध्यक्ष काफ्ले भने वास्तविकता नबुझी एक जना महिलाको कुरा सुनेर र आफ्नो मान्छेको गलत ब्रिफिङ सुनेर एक्कासी भत्काउन डोजर पठाएको भन्दै असन्तुष्ट थिए । 

khahare jali

मंगलबार साँझ छापामार शैलीमा आएर प्रदेश सरकारको बजेटमा बनेको संरचना भत्काइएको भन्दै वडाअध्यक्ष काफ्लेले कानुनी उपचारको बाटोमा जाने प्रतिक्रिया दिएका छन् । बुधबार क्लिकधरानसँग उक्त घटनाबारे प्रतिक्रिया वडाअध्यक्ष काफ्लेले सार्वजनिक सम्पत्ति तोडफोड गरिएकोले कानुनी उपचारमा जाने बताए । 

अख्तियारमा आफैले जाहेरी दिएको र छानबिन नभै आफैले भत्काएर प्रमाण पनि नष्ट गरेकोले केही कुरा लुकेको उनले बताए । ‘अख्तियारमा उजुरी हालिसकेपछि छानबिन नभै किन भत्काइयो ?’ उनले भने,‘यसमा कानुनी उपचारमा जान्छौं । सार्वजनिक सम्पत्ति तोडफोडमा कोही त होला नि ? राज्य पनि निहिर भएर बस्ने अवस्था त छैन होला ? प्रदेश सरकार पनि चुप लागेर बस्ने ? कानुन पनि चुप लागेर बस्ने त होइन होला !’

तारजाली काटेको फोटो र भिडियो आफ्नो फेसबुक पेज सेयर गर्दै मेयर साम्पाङले आइन्दा नहुने र नचाहिने काम नगर्नु भन्दै राती पोष्ट गरेका थिए । उनको पोष्ट पछि मात्र तारजाली काटिएको सार्वजनिक भएको थियो । मेयर साम्पाङले ग्याबिङ जाली काट्न आदेश दिदा  त्यसतर्फको जनताको चार घर कटानको जोखिममा पर्नेबारे ध्यान नदिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु राईले बताए । 

भिडियो: