धरान: कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर २०८१ को उपाधी धरान ६ पानबारीस्थित शिक्षा सन्देश बोर्डिङकी छात्रा ममता तामाङले जितेकी छिन ।

     धरान ८ स्थित सहिद स्मृति माविको सभाहलमा भएको प्रतियोगितामा १४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले उपाधी जितेकी हुन् । उपाधीसङ्गै ममताले २० हजार रुपैया नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि सतप्रतिशत छात्रवृत्ति पनि पाएकी छिन् ।

यस्तै, बराहक्षेत्र नगरपालिकाको चतरास्थित  हिमालयन बोर्डिङ स्कुलकी दीया राई फष्ट रनर अप भईन् । उनले १५ हजार रुपैया नगद, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रबृत्ती प्राप्त गरिन् । धरान १८ स्थित जेम आवासिय माविकी क्याथरिन योन्जनले सेकेन्ड रनर अपको उपाधी जितिन् । उनले नगद १० हजार, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति पाइन् । 

इटहरी २० तरहरास्थित जनसहयोग माविकी रेशिका शर्माले थर्ड रनर अपको उपाधी जितिन् । उनले नगद ५ हजार, प्रमाणपत्र र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छिन्। र्याडिकल लाईट नेपाल प्रालि धरानले आयोजना गरेको कार्यक्रमको सब टाईटल तर्फ सहिद स्मृति माविकी जेलिशा पौडेल र झरना राईले क्रमशः बेस्ट प्रेजेन्टर र मस्ट ओबिडियन्टको उपाधी गरे । धरान १५ स्थित हिबिस्कस इङ्लिश बोर्डिङका जनक शाह र चिल्ड्रेन एकाडेमीका सेनिता लिम्बुले क्रमशः बेस्ट प्रननसियसन र मस्ट पङ्चुअलको उपाधी जिते । 

धरान ६ स्थित सरस्वती माविका जेनिशा सुनाम र एभरेस्ट चिल्ड्रेन होम बोर्डिङकी स्मृती लिम्बुले क्रमशः मस्ट एक्टिभ र मस्ट सिन्सियरको उपाधी हासिल गरे। धरान १० स्थित यु.एन. स्कुलका प्रेम बिश्वकर्माले मस्ट कोअपरेटिभ, धरान ३ स्थित भानु स्मृति माविकी निशा बराईलीले मस्ट फ्लुएन्ट, धरान १६ स्थित सियोन स्कुलकी सोनिया नेपालीले मस्ट सोसियल, बराहक्षेत्र कालाबन्जार स्थित जडेज माविकी कन्चन पौडेलले पब्लिक चोइसको उपाधी जितिन् । 

धरान १७ पट्नाली स्थित ज्वालामुखी माविकी बिबिका राईले मस्ट डिसिप्लिनको उपाधी जितिन् । सब टाईटलको उपाधी जितेका बिद्यार्थीहरुले १र१ हजार नगद, प्रमाणपत्र र प्लस टु अध्यनका लागि ३० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन्।

  प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र शिक्षा सदन माविका शिक्षक अशोक पोख्रेल थिए। २०८० सालको एस.ई.ई. दिएर बसेका बिद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै बोल्ने क्षमताको बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए।

   प्रालिका प्रबन्ध निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश योजना आयोगका सदस्य भवानी बराल प्रमुख अतिथि थिए । राष्ट्रिय राजनीतिमा बहस गर्नुपर्ने बिषयबस्तुमा एसईई स्पिकरका सहभागिहरुले बोल्नु अत्यन्तै राम्रो भएको प्रमुख अतिथि बरालले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सचिव देबेन्द्र कार्की, सहिद स्मृति माबिका प्रधानाध्यापक राम बिष्ट, एस.ई.ई.स्पिकर २०८० की बिजेता एन्जिला कार्की लगायतले मन्तब्य राखेका थिए ।