धरान: नागरिक सुनुवाइमा बोलेको बिषयमा धरानका मेयर हर्क साम्पाङले बोलाएपछि कार्यकक्षमा पुगेकी पत्रकार सन्जिता धमलालाई प्रहरी बोलाएर जबर्जस्ती बाहिर निकाल्दा चोटपटक लागेको छ ।

मेयर साम्पाङले नेपाल प्रहरी बोलाएर धमलालाई कार्यकक्ष बाहिर निकाल्न आदेश दिएका थिए । महिला नेपाल प्रहरी र नगर प्रहरीले धमलालाई बलजफ्ती बाहिर निकालेका थिए । त्यसक्रममा धमलाको हात, पाखुरामा चोट लागेको छ । आफैले बोलाएर आएका नागरिकलाई मेयर साम्पाङले प्रहरी बोलाएर बलजफ्ती निकालेको भन्दै चर्को आलोचना पनि भैरहेको छ । साथै तानाशाही तरिकाले पत्रकारको आवाज दमन गर्न खोजेको आरोप पनि मेयर साम्पाङलाई लागेको छ । जनताको प्रश्न सुन्न नसक्ने र प्रश्न गर्नेलाई दमन गर्ने आरोप मेयर साम्पाङलाई लाग्दै आएको छ ।

उक्त घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी नविन भण्डारी धरान आएका थिए । पत्रकार महासंघ सुनसरीको टोली पनि इलाका प्रहरी कार्यालय पुगेको थियोे । उक्त घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले एक समिति गठन गरेको बताएको छ । समिति संयोजक सहायक प्रजिअ वेदराज फुयाल, सदस्यहरुमा डिएसपी भण्डारी र जिल्ला प्रशासनका प्रशासकीय अधिकृत रहेका छन् ।

घटनापछि धमलाले ईलाका प्रहरीमा निवेदन दिएकि छिन् भने चोटपटकको जाछ पनि भैसकेको छ । जिल्ला प्रहरीले बुधबार धरानमा आयोजना गरेको नागरिक सुनुवाइमा धमलाले केही जनप्रतिनिधिहरुले नागरिकता बनाउन पैसा लिएर कमाई गरेको भन्दै चेतावनी शैलीमा सच्चिन अभिव्यक्ती दिएकि थिइन् । प्रमुख अतिथि रहेका मेयर साम्पाङले मन्तव्यको क्रममा प्रमाण लिएर आउन भनेका थिए भने सामाजिक संजाल फेसबुकमा पनि प्रमाण भए लिएर आउन नभए माफी माग्न लेखेका थिए ।

शुक्रबार दिउँसो धमला मेयरको कार्यकक्षमा पुगेर आफ्नो चरित्र हत्या हुने गरि किन स्टाटस लेखेको भन्दै प्रश्न गरिन । उनले आफुले प्रमाण छ नभनेको दावी गर्दै भए पनि सिडियो, प्रहरी वा न्यायलयमा मात्रै दिने बताइन् । मेयरलाई कारबाही गर्ने अधिकार नभएको भन्दै उनले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले नै फेसबुकमा जे पायो त्यही लेखेको आरोप लगाइन् ।

मेयर साम्पाङले पनि नागरिकता जस्तो संवेदनशील बिषयमा जनप्रतिनिधिले पैसा लिएको भनेकोले प्रमाण दिनु, नभए माफी माग्नु भनेका थिए । उनले प्रमाण विना जथाभावी गम्भीर आरोप नलगाउन पनि धमलालाई भनेका थिए । त्यसक्रममा दुवैबिच मर्यादाको ख्याल समेत नगरी चर्काचर्कीसमेत परेको थियो । 

"मेयरले शक्तिको दुरुपयोग गरे"

पत्रकारहरुको विभिन्न संगठनहरुले शुक्रबार राती संयुक्त विज्ञपति जारी गर्दै मेयर साम्पाङले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले संयुक्त विज्ञपति जारी गर्दै सन्चारकर्मीलाई बोलाएर आफ्नै कार्यकक्षमा शक्तिको दुरुपयोग गरि दुर्व्यवहार गरेको उल्लेख गरेको छ ।

मेयरको निर्देशनकै आधारमा सत्य तथ्य नबुझी सन्चारकर्मी धमलामाथी नेपाल प्रहरीले दुर्व्यहार गर्दा चस्मा फुटेको र शरीरको विभिन्न भागमा चोटपटक लागेकोले आमनागरिकले प्रहरीको भरोसा कसरी गर्ने ? भन्ने प्रश्न पनि विज्ञप्तीमा गरिएको छ । साथै धमलामाथी भएको घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न पनि माग गरिएको छ ।
20240705_231610