धरान: धरान उपमहानगरपालिका वडा नं ३ लाई बालमैत्री वडा घोषणा गरिएको छ । 

आवश्यक पर्ने ५१ वटा सुचकहरु पुरा भएपछि शनिबार भानुस्मृति माविमा भव्य समारोहबीच वडा ३ लाई बालमैत्री वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं उपममेयर अइन्द्रबिक्रम बेघाले बालमैत्री वडा घोषणा गरेका थिए । 

वडा ३ का अध्यक्ष विद्या शाक्यले जनप्रतिनिधि, टिएलओ, बालबालिका, ज्येष्ठ नागरिक सबैको पहल, समन्वयमा बालमैत्री वडा घोषण गर्न सफलता मिलेको बताए । वडाको संक्षिप्त विवरण जानकारी गराउदै उनले २०७८ को जनगणना अनुसार ११०१ घरधुरी र ४६६२ जनसंरख्या रहेको बताए । ती मध्ये महिला २३५८ र पुरुष २३०४ जना रहेको वडा ३ को तथ्यांक छ । यस्तै २०८० सालमा गरेको घरधुरी सर्वे अनुसार १८ बर्ष मुनिका बालबालिकाको संख्या ८३७ रहेको छ । त्यसमध्ये पनि बालक ४४० र बालिका ३९७ रहेको वडाअध्यक्ष शाक्यले बताए । कुल जनसंख्या मध्ये बालबालिकाको संख्या १८.१४ प्रतिशत हुन आउने पनि उनले बताए । 

वडाअध्यक्ष शाक्यका अनुसार २ वटा विद्यालय व्यवस्थापन समितिको बैठकमा बाल क्लबको प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ भने स्वास्थ्य व्यवस्थापन समितिमा पनि बाल क्लबको प्रतिनिधित्व हुने व्यवस्था छ । साथै बालबालिकाहरुलाई लक्षित गरेर योजना तथा कार्यक्रमहरु पनि रहेकोले बालबालिकाहरुको चौतर्फी विकासमा मद्दत पुगेको उनको भनाई छ । ‘बालबालिकाको लागि ३ बर्षे आवधिक लगानी योजना बनाइएको छ । आगामी आर्थिक बर्षमा सोही अुनसार बजेट विनियोजन गरिनेछ । बाल संरक्षणको लागि योजना कार्यन्वयनमा ल्याउनेछौं,’ उनले भने ।

IMG_0934

वडाअध्यक्ष शाक्यले आगामी बर्ष टिएलओको सिफारिशमा ३० जना अतिविपन्नलाई स्वास्थ्य विमा गर्ने योजना पनि सुनाए भने टिएलओकै सिफारिशमा अतिविपन्न परिवारमा कसैको निधन भएमा शववहान र दाहसँस्कार गर्दा लाग्ने खर्च पनि निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, वडा नं ३ कास्थायी बसोबास र नागरिकता भएका जनतालाई उपचारको क्रममा रगत आवश्यक पर्दा लाग्ने जाँचको खर्च निःशुल्क गराउने पनि अध्यक्ष शाक्यले जानकारी दिए ।

विकास र समृद्धि एकजनाले सम्भव छैन, सबैको भुमिका जोड्नुपर्छ: उपमेयर बेघा

उपमेयर बेघाले घोषणा समारोहलाई सम्बोधन गर्दै वडा नं ३ लाई बालमैत्री वडा घोषणा भएकोमा बधाई दिए । साथै उनले धरानलाई विकास र समृद्धिको दिशामा लैजान सबैले योगदान पुर्याएको भन्दै सबैको भुमिका जोड्नुपर्नेमा जोडदिए ।

उपमेयर बेघाले भने,‘धरान निर्माण गर्ने प्रश्न एक जना व्यक्तिले मात्र सम्भव छैन, धरानका आम नागरिकको भुमिकालाई जोडेर विकास र समृद्धि सम्भव छ ।’ उनले ऐन, कानुन, विधि, विधानमा रहेर एकले अर्कालाई सम्मान गर्दे भुमिका जोड्दै धरानको विकास र समृद्धिको निम्ती अघि बढ्नुपर्ने वस्तुगत आवश्यकता रहेको पनि बताए । 

धरानमा विधि, सँस्कारलगायतको सन्दर्भमा केही प्रश्नहरु उठ्ने गरेको भएपनि धरान हरेक किसिमले एकताबद्ध भएर अघि बढेको उपमेयर बेघाको भनाई थियो । ‘धरान मिलेर बसेको छ, र एकले अर्कालाई सम्मान गरेर, एकले अर्काको अस्तित्व स्वीकार गरेर बसेको छ,’ बेघाले भने,‘यो कुरालाई कायम गर्दे सबै एक भएर अघि बढ्नुपर्छ । नेतृत्व तहमा भएको कमीकमजोरी सच्याउदै, सच्चिदै अघि बढ्नुपर्छ ।’