धरान: दुई पटक प्रयास गर्दा पनि हुन नसकेको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा आइतबार हुने भएको छ ।

आइतबार दिउँसो ३ बजेको लागि उपमहानगरपालिकामै नगरसभा हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले उपमेयर, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पत्राचार गरेका छन् । उक्त पत्रमा पहिलो एजेण्डाकोरुपमा आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम रहेको छ भने दोस्रो एजेण्डामा आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट तथा कार्यक्रम राखिएको छ भने तेस्रो एजेण्डामा विविध रहेको छ । 

यसअघि असार १० गते सैनिक भवनमा नगरसभा शुरु नै नभई भाडिएको थियो भने असार ३१ गते पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा सभा बस्न सकेको थिएन । असार १० गते बजेट विना नगरसभा गर्ने कि नगर्ने भन्ने विवादले हुन सकेन भने पछिल्लो पटक करारमा रहेका कर्मचारीहरुको म्याद थप गर्ने कि नगर्ने भन्ने विवादले नगरसभा हुन सकेको थिएन । 

IMG_2188

असार भित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम पास हुन नसकेपछि धरान बजेट होलिडेको स्थितिमा छ । अहिले अत्यावश्यक सेवाबाहेक सम्पुर्ण कर वा शुल्क लिने कार्य ठप्प छ । ‘अत्यावश्यक सेवा नागरिकता, जन्मदर्ता पञ्जिकरणलाई गतसालको दररेटमा फरक नपर्ने गरि कामचलाउ भइरहेको छ,’ उनले भने,‘जनताको अत्यावश्यक काम रोक्न भएन, त्यसैले फुकाउनको लागि मात्र यस्तो गरिएको हो । अरु कर, शूल्क केही लिन मिल्दैन ।’

प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार दिउँसो ३ बजे नगरसभा हुनुअघि बिहान ८ बजे कार्यपालिका बैठक हुनेछ । उक्त बैठकमा सहमति गरेर दिउँसो ३ बजे नगरसभा गर्ने तालिका रहेको उनले बताए । ‘करार कर्मचारीको बिषयमा प्रदेश लोकसेवाले पनि वर्कआउट गर्दैछ । २०७४ भन्दा अघिका कर्मचारीलाई लोकसेवा भिड्न दिने वा गोल्डेन ह्याण्डचेक गर्ने हुन्छ । त्यसपछिकालाई पनि प्रदेशले कार्यविधि बनाउदैछ,’ प्रमुख प्रशासकीय अधिकृत राईले भने,‘त्यो बिषयमा कार्यपालिकामा उचित निर्णय हुने अपेक्षा छ ।’

विवादित बिषय समाधान गर्न विभिन्न चरणमा छलफल

deputy mayor

नगरसभा रोकिनुको कारक बनेको करार कर्मचारीहरुको म्याद थपको बिषयमा विभिन्न चरणमा छलफल भएर नै नगरसभाको मिति तोकिएको उपमेयर अइन्द्रबिक्रम बेघाले जानकारी दिए । उनका अनुसार कार्यपालिका बैठकबाट विवादित बिषय समाधान हुनेछ । 

विवादित बिषयलाई समाधान गर्न विभिन्न चरणमा छलफल भएर निकास आएको पनि उपमेयर बेघाले बताए । ‘विवादित बिषयमा छलफल भएर समाधान गर्न विभिन्न चरणमा छलफल भएको छ । समाधान हुने कुरा छ,’उनले भने,‘करिब करिब कुरा मिलेको छ । दैवको आँखा लागेन भने भनेजस्तै केही भइहालेन भने आइतबार ३ बजे नगरसभा हुन्छ ।’