धरान: बस र विमान दुर्घटनामा ज्यान गुमाएका मृतकहरुप्रति नेपाल विद्यार्थी संघले बिहिबार साँझ धरानको भानुचोकमा शोकसभा तथा दिप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । 
सुनसरीका विभिन्न चार क्याम्पस ईकाई कमिटीले धरानको भानुचोकमा संयुक्तरुपमा दिप प्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम गरेको हो । गत असार २६ गते पहिरो खस्दा यात्रुवाहक बस त्रिशुली नदीमा बगेर ५६ जनाको ज्यान गएको थियो भने हिजो बुधबार त्रिभुवन विमानस्थलमा मर्मताको लागि पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु र एक घाइते भएका थिए ।
दुर्घटना मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना र परिवारजनमा समवेदना प्रकट गर्दै दिप प्रज्वलन कार्यक्रम गरिएको कार्यक्रमका संयोजक एवं महेन्द्र बहुमुखी क्याम्पस इकाई सभापति विनोद आलेमगरले जानकारी दिए । उनका अनुसार मृतकहरुप्रति एक मिनेट मौन धारण पनि गरेर श्रद्धाञ्जली व्यक्त गरिएको थियो । महेन्द्र क्याम्पससँगै पिण्डेश्वर विद्यापिठ, पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पस र इटहरीको जनता क्याम्पस इकाई कमिटीले संयुक्तरुपमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रमलाई नेबिसंघ सुनसरीका सभापति प्रमोद भट्टराईले सम्बोधन गरेका थिए । उनले नेपालको सडक र हवाई यात्रा दुवै जोखिम रहेको बताए । उनले नेपाल विकसित मुलुकहरुको लागि प्रयोगशाला बनिरहेको भन्दै कमिशनको खेलमा पुराना जहाजहरु खरिद गरेर ल्याउने र राम्रो परीक्षण नगरि सञ्चालन गर्ने बेथितीको अन्त्य गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका जिल्ला उपध्यक्ष सहदेव काफ्ले, सचिव नवीन श्रेष्ठ, कोषाध्यक्ष सुबिक्षा राईसहित पिण्डेश्वरका सभापति प्रबेश पौडेल, पुर्वाञ्चल क्याम्पसका स्ववियु सभापति नवीन श्रेष्ठ, नेबिसंघ सभापति राकेश यादव लगायतको उपस्थिति रहेको थियो ।
भिडियो:
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



