धरान:विगत एक बर्षदेखि रगतको क्षेत्रमा योगदान पर्याउदै आएको ब्लड फर निड (आवश्यकतामा रगत) संस्थाले पहिलो स्थापना दिवस मनाएको छ ।

'आज अरुका लागि भोलि आफ्ना' भन्ने मुल नाराका साथ यो संस्था स्थापना भएको थियो । उक्त संस्थाले श्रावण १० गते बिहिबार आफ्नो पहिलो स्थापना दिवस मनाएको हो । यो संस्थाको देशको विभिन्न जिल्लामा शाखा विस्तार भएको छ । ती शाखाहरुमा विभिन्न सामाजिक कार्य गरि स्थापना दिवस मनाएको संस्थाका केन्द्रीय उपाध्यक्ष जोरस दाहालले जानकारी दिएका छन् । 

उनका अनुसार संस्थाले अस्पतालको शैयामा रहेका विरामीहरुका लागि आपतकालीन रगत व्यवस्थापन, विभिन्न स्थानहरुमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रमहरु गर्दै आएको छ । पहिलो स्थापना दिवसकै अवसर पारेर संस्थाले साउन ७ गते सोमबार हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरसँगको प्राविधिक सहकार्य साथै युथ फर नेसन टिम, महायज्ञ आयोजक समितिको सहयोगमा पशुपति क्षेत्र परिसरमा रक्तदान गरी २७ पिन्ट रगत संकलन गरेको केन्द्रीय उपाध्यक्ष दाहालले जानकारी दिए । 

blood donation

यस्तै, साउन १० गते बिहिबार दाङको नारायणपुरस्थित मानव सेवा घरमा आश्रय लिइरहेका मानिसलाई खिर खुवाएर संस्थाको पहिलो स्थापना दिवस मनाइएको थियो। बिहिबार नै जनकपुरधामस्थित जनक चोक परिसरमा दिप प्रज्वलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो भने सुनसरी शाखाले बिहिबार धरानका विभिन्न स्थानहरुमा घुम्ती रक्तदान कार्यक्रम गरेर ४५ पिन्ट रगत संकलन गरेको जनाएको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाको रक्तसंचार केन्द्रमा रगतको चरम अभाव भएकोले केन्द्रसँगको सहकार्यमा घुम्ती रक्तदान कार्यक्रम गरेर संस्थाले स्थापना दिवस मनाएको जनाएको छ ।