धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर डस्विनमा नवजात शिशुको शव फेला परेको छ ।

आज बिहान सरसफाई कर्मचारीहरुले डस्विनमा शव भेट्टाएपछि वडा नं १८ का जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । वडा सदस्य दिवन राईका अनुसार बिहान करिब ६ बजेतिर नै सफाईकर्मीहरुले खबर गरेका थिए । त्यसपछि प्रहरीलाई घटनाबारे जानकारी दिइएको उनले बताए । 

शिशुको शवको हातमा वीपी प्रतिष्ठानले लगाएको ट्याग पनि थियो । सोही ट्यागको आधारमा प्रहरी गाइनो वार्डमा सोधीखोजी गर्दा मृत शिशुको आमाबुबा पत्ता लगाएको थियो । शव नवजात छोरीको थियो । शिशुको बुबा सप्तरीका योगेन्द्रकुमार रामलाई प्रहरीले गाइनो वार्डबाट ल्याएर शव देखाउदा आफ्नै मृत छोरी हो भनेर स्वीकारेका थिए । 

yogendra copy

तर, उनले उक्त शव हिजो साँझ जंगलमा लगेर गाड्ने भन्दै २ जना व्यक्ति आएकोले ४ सय रुपैया दिएर जिम्मा लगाएको पनि खुलाएका थिए । ‘मैले यहाँ ल्याएर फालेको होइन, म र श्रीमति मात्रै थियौं । त्यसैले २ जना व्यक्ति आएर जंगलमा लागेर गाडिदिन्छौं भन्यो, ४ सय रुपैया दिएर जिम्मा लगाएको थिएँ,’उनले भने ।

योगेन्द्रका अनुसार श्रीमतिलाई २, ३ महिनादेखि नै वीपी प्रतिष्ठानमा नियमितरुपमा परीक्षण गरिरहेका थिए । रक्तस्राव भएर गाह्रो भएपछि हिजो साढे ३ बजेतिर प्रतिष्ठानको गाइनो वार्डमा श्रीमति ल्याएर आएका थिए । गर्भमा ५ महिनाको मात्र बच्चा थियो । बच्चा बचाउन नसकिने भनेर डाक्टरले भनेको र अप्रेशनबाट मृत बच्चा निकालिएको पनि योगेन्द्रले सुनाए । ‘यसरी नै ४, ५ वटा गर्भ खेर गइसकेको छ,’ पीडा सुनाउदै उनले भने ।

child dead body1 copy

अभिभावक फेला परेपछि प्रहरीले मुचुल्का उठाएर शव वीपी प्रतिष्ठानको मर्चरीमा राखेको थियो । मृतकका बुबालाई निवेदन दिन लगाएर प्रतिष्ठानबाट शिशुको मृत्यु भएको प्रमाणपत्र ल्याएपछि अन्त्येष्टीको लागि जिम्मा लगाउने ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । 

भिडियो: