धरान: धरान उपमहानगरपालिका वडा नं १ पृथ्वीचोकमा अजिंगर फेला परेको छ।
सोमबार साँझ स्थानीयले रुखमा देखेको अजिंगरलाई रेस्क्यु गरेर हरियाली सामुदायिक वन समुहमा लगिएको छ । वडा नं १ का वडा सदस्य उज्वल बास्तोलाका अनुसार पृथ्वीचोकका स्थानीय उद्धव श्रेष्ठ घर पछाडिको रुखमाथि अजिंगर बेरिएको थियो । वन कार्यालयलाई खबर गरेपछि करिब डेढ घण्टा लगाएर अजिंगर समातेको उनले बताए ।
हरियाली वन समुहमा रहेको मिनि जुमा उक्त अजिंगरलाई राखिनेछ । स्थानीयले प्रहरी र तीनकुनेस्थित वन कार्यालयमा जानकारी दिएका थिए । वन कार्यालयले हरियाली वन समुहलाई खबर गरेपछि उद्दार गर्न वन समुहको टिम पुगेको थियो । प्रहरीले पनि अजिंगर उद्दारमा सहयोग गरेको थियो ।
रुखको हाँगा काटेर अजिंगरलाई भुँइमा खसालेर समातेका थिए । अजिंगर समाउने क्रममा एक युवाको हातमा टोकेको पनि थियो । यद्यपी उनी खतरामुक्त छन् । रुखमाथि अजिंगर भेटिएको हल्ला फैलिएपछि हेर्नेको घुँइचो लागेको थियो ।