धरान: सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण प्रयासको आरोपमा पक्राउ परेका पाँच जना महिलाहरु आइतबार १८ औं दिनमा हिरासत मुक्त भएका छन् ।

पक्राउ परेका कुल ९ जनामध्ये आज ५ जना महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जनही १० हजार धरौटीमा रिहा गरेको हो । धरौटीमा रिहा हुनेहरु वीपी प्रतिष्ठानबाट पक्राउ परेकाहरु मुना राई, समिक्षा राई, चन्द्रकला थेवे, उर्मिला राई, र सकिनी थापा मगर हुन् । पछि पक्राउ परेकाहरु समिर तामाङ, पुर्ण वान्तवा, संगीता राई र सृर्जना बेघा भने अदालती प्रक्रियाबाट छुट्नु पर्ने भएकोले आज ढिलाई भएको रिहाईको लागि आन्दोलनको नेतृत्व गरिरहेका जेन्टल लावतीले बताए । उनीहरु सोमबार रिहाई हुने उनको भनाई छ । छुटेका पाँच मध्ये तीन जना भानुचोकमा जारी आन्दोलनमा आइपुगेका थिए । उनीहरुलाई खादा लगाएर स्वागत गरिएको थियो । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलामाथि आक्रमण प्रयासको आरोपमा असार २ गते पाँच जना पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीले धरानमा नराखी जिल्ला प्रहरी कार्यालय इनरुवा लगेर हिरासतमा राखेको थियो भने अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । उनीहरुलाई रिहाई गर्नुपर्ने माग गर्दे इलाका प्रहरी कार्यालय धरानमा घेराउ गर्ने क्रममा गेट हल्लाउने, माथि चढ्ने प्रयास गरेपछि प्रहरीले थप ४ जनालाई पक्राउ गरेको थियो । स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष समिर तामाङसहित चार जनालाई प्रहरीले आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालयले धरानमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा धमलाले जनप्रतिनिधिले पैसा लिएर नागरिकता सिफारिश गरेको सुचना आफुले पाएको भन्दै सच्चिन आग्रह गरेकी थिइन् । साथै उनले धरानमा यौनधन्दा बढेको भन्दै पहाडबाट आएकी एक विद्यार्थीसँग आफ्नो कुरा हुँदा पार्टटाइम काम गर्ने गरेको बताएकी थिइन् ।

उक्त अभिव्यक्ति पछि मेयर साम्पाङले नागरिकतामा घुस लिने गरेको प्रमाण लिएर आउन भनेर सोही कार्यक्रममा र फेसबुकमा पनि आग्रह गरेका थिए । मेयरको कार्यकक्षमा पुगेर धमलाले आफुले प्रमाण भएको नभनेको तर भएपनि मेयरलाई नदिने भन्दै आफ्नो चरित्र हत्या गरेको बताएकी थिइन् । मेयर र धमलाबीच अमर्यादित विवादको भिडियो भाइरल भएको थियो । 

उक्त घटनाको केही दिनपछि स्वतन्त्र महिलाहरुले धमलाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए भने वीपी प्रतिष्ठानमा उपचारमा गएको बेला महिलाहरुले धमलालाई आक्रमण प्रयास गरेको आरोप छ । सिसिटिभी फुटेजमा भने महिलाहरुले धमलालाई तानेको देखिएको छ भने धमला कोठाभित्र प्रवेश गरेको बेला बाहिरबाट हुलदंगा गरेको भिडियो पनि बाहिरिएको थियो । सोही घटनामा ५ महिला पक्राउ परेका थिए भने पछि थप ४ जना प्रहरी कार्यालयमा घेराउको बेला हुलदंगा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । 

भिडियोः