धरान: नेपाल आदिबासी जनजाति महिला महासंघ अमेरिका (फिवना) की अध्यक्ष इन्दिरा चोङवाङ सम्मानित भएकी छिन् ।
स्वतन्त्र दिदीबहिनी समुह धरानले उनलाई श्रम सँस्कृति पार्क क्षेत्रमा एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो । चोङबाङले आफ्नो संस्था फिवनाको तर्फबाट स्वतन्त्र दिदीबहिनीहरुको काम देखेर उच्च मुल्यांकन गर्दै एक लाख ३ हजार आर्थिक सहयोग प्रदान गरेकी थिइन् । उक्त रकममध्ये एसडिबि रोजगार्डेनमा रेलिङ निर्माण गर्न ५३ हजार प्रदान गरेकी थिइन् भने निर्माणाधिन मौनता क्षेत्रको लागि थप ५० हजार दिदीबहिनी समुहलाई हस्तान्तरण गरेकी थिइन् ।

धरान १० निवासी चोङवाङ हाल परिवारसहित अमेरिकामा बसोबास गर्छिन् । उनी श्रीमान् एवं धरान सोसाइटी युएसएका अध्यक्ष तेज लिम्बुसँगै हाल नेपालमा छन् । स्वतन्त्र दिदीबहिनीहरुले पनि सहयोगी दाता चोङबाङलाई एक कार्यक्रम आयोजना गरेर सम्मान गरेका हुन् । दिदीबहिनीहरुले देशविदेशबाट सहयोगी हातहरु जुटेर नै एसडिबी रोज गार्डेन निर्माण गर्न सफल भएको र अहिले मौनता क्षेत्र पनि निर्माण गरिरहेको भन्दै चोङबाङप्रति आभार पनि प्रकट गरेका थिए ।
सम्मान ग्रहण गर्दै चोङबाङले विदेशमा भएपनि जन्मभुमीको याद आइरहने र केही गरौं भन्ने भावनाले सहयोग गरेको बताइन् । उनले धरानका महिलाहरु एकजुट भएर प्रशंसनीय कामहरु गरिरहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गरिन् । ‘महिलाहरुको धेरै समस्या र चुनौतीहरु हुन्छन् । तर पनि यहाँ दिदीबहिनीहरु एकजुट भएर गर्नु, एकतावद्ध भएर काम गरिरहनु भएको छ, यो ठुलो कुरा हो,’ उनले भनिन्,‘तपाईहरुलाई दिएको सहयोगमा हाम्रो संस्थाका सबै पदाधिकारीहरुको पनि योगदान छ, यो मेरो मात्र होइन । तपाईहरुले अझै राम्रो कामहरु गर्नुहोस् । खुट्टा तान्नेहरु पनि आउछन्, त्यसलाई वास्ता गर्नुहुन्न । सानोतिनो कुरालाई वेवास्ता गरेर आत्मवललाई वलियो बनाएर अगाडि बढ्नुस् ।’
तीन सञ्चारकर्मीलाई सम्मान

धरान सोसाइटी युएसएले तीन सञ्चारकर्मीलाई सम्मान गरेको छ । सोसाइटीका अध्यक्ष तेज लिम्बुले एक कार्यक्रमबीच सञ्चारकर्मीहरुलाई नगद र सम्मान पत्र प्रदान गरेका थिए । सर्दु जलाधार क्षेत्र अतिक्रमणको बिषयमा सत्यतथ्य समाचार सम्प्रेषण गरि धरानको खानेपानीको मुहान संरक्षणमा योगदान पुर्याएको कदर गर्दै सोसाइटीले क्लिकधरानका सम्पादक रोहित राईलाई सम्मान गरेको हो । उनलाई सोसाइटीका अध्यक्ष लिम्बुले नगद १० हजार र सम्मान पत्र प्रदान गरेका थिए ।
यस्तै, दमक निवासी गोजी मिडियाका डेबिट राई र अनलाइन मिडिया एशोसिएशनका अध्यक्ष स्वर्णिम फोम्बोलाई पनि जनही नगद ५ हजार र सम्मान पत्र प्रदान गरेका थिए । सोसाइटीका अध्यक्ष लिम्बुले भविष्यमा पनि खोजपुर्ण तथा सत्यतथ्य समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिने पनि बताए ।
भिडियोः
भिडियोः







