धरान: वंगलादेशमा विकसित राजनीतिक घटनाक्रमले विभिन्न धार्मिक तथा राजनैतिक अतिवादी समुहहरुले चलखेल गर्ने सम्भावना रहेको भन्दै सुनसरी प्रशासनले सबै धार्मिक समुदाय र संस्थाहरुलाई संयमता अपनाउन आग्रह गरेको छ ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुँयालले अनुरोध जारी गर्दै सबै समुदाय र संस्थाहरुलाई संयमता अपनाउन र बेमेल बढाउने खालका अभिव्यक्ति र गतिविधि नगर्न पनि अनुरोध गरेको छ । यसैगरि, आ आफ्नो परम्परा र रिति रिवाज अनुसार गर्नुपर्ने कार्यक्रमबाहेक सामुहिकरुपमा भेला, जम्मा नहुन पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
प्रशासनका अनुसार यो निर्णय मंगलबार बसेको सर्वपक्षीय भेलाले गरेको थियो । वंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिना भारत भाग्नुपरेको थियो । संसद भंग भएर अन्तरिम सरकार गठन भएपनि वंगलादेशमा हिंसा र तनाव रोकिएको छैन । पछिल्लो समय अल्पसंख्यक हिन्दु धर्मावलम्बीहरु वंगलादेशमा असुरक्षित हुन थालेको समाचारहरु आइरहदा नेपालमा पनि सर्तकता अपनाइएको हो ।